गैंडाकोट, १० पुस ।
लायन्स क्लब अफ चितवन वाङ्गमयको दुई दिने काव्य गोष्ठी गैंडाकोटमा बुधबार सम्पन्न भएको छ । वाङ्गमयका अध्यक्ष सुजन अधिकारीको सभापतित्व एवं लायन्स क्लब इन्टरनेसनल ३२५ आर नेपालका सेकेण्ड भ्वाईस डिस्ट्रिक्ट गभर्नर एमजेएफ लायन प्रभाकर पण्डितको प्रमुख आतिथ्यमा उक्त काव्यगोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पण्डितले क्लबले आफ्ना कार्यक्रम नियमित रूपमा गराउँदै आइरहेको र डिस्ट्रिक्ट मै एकमात्र साहित्य तथा पत्रकारहरूको क्लबले साहित्य सँगसँगै समाजसेवाका काम गरेकोमा आफूलाई खुसी लागेको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि गैंडाकोट वडा नम्बर ३ का अध्यक्ष शिवकान्त तिवारीले सामाजिक सद्भाव कायम गर्न पनि साहित्य तथा पत्रकारिताको अहम् भूमिका रहने बताए । उनले केही समयअघि मात्र सुगम जिल्लाको दुर्गम गाउँका रूपमा परिचित आफ्नो वडा अहिले बाटोघाटो निर्माणकार्य सम्पन्न भएसँगै अब यहाँका जनताको जीवन उकास्नका लागि आफू लागि परेको बताए ।
कार्यक्रममा विशेष अतिथिका रूपमा रिजन १४ कि रिजन चेयर पर्सन एमजेएफ हरिप्रिया रिजाल, जोन चेयर पर्सन प्रकाश सुवेदी, डाक्टर हेमनाथ घिमिरेलगायतका कविहरू, क्लबका संस्थापक अध्यक्ष गोर्खे साइँलो, क्लबका पूर्व अध्यक्ष सूर्यमणि रेग्मी, राजेन्द्र घायल, नेत्रप्रसाद सापकोटा, शारदा शर्मा, शोभा अधिकारी, लीला घिमिरे, पुष्पा सापकोटा न्यौपानेलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
लायन्स क्लब अफ चितवन वाङ्गमयका सचिव विदुर अधिकारीले छन्द कविताबाट उक्त कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम क्लबका द्वितीय उपाध्यक्ष राजेन्द्र पौडेलले सञ्चालन गरेका थिए ।