भरतपुर, १० पुस ।
अक्षर समूह चितवनको आयोजनामा किसान कुटी भरतपुर- १२, कस्तुरी मार्गमा गजलकार किसान प्रेमीको प्रकाशोन्मुख गजल कृति “अञ्जानमा गयौ कि ?” माथि पाण्डुलिपि बहस तथा किसान प्रेमीको एकल गजल वाचन कार्यक्रम गरियो । उक्त कार्यक्रममा किसान प्रेमीले आफ्नो प्रकाशोन्मुख गजल कृतिबाट ६ वटा गजल हार्मोनियमको सुरसँग मिलाएर सुरतालमा गाएर प्रस्तुत गरेका थिए ।
गजलकार किसान प्रेमीले गजल सुनाए लगत्तै कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले उनका गजलका बारेमा स्रोताको धारणा प्रस्तुत गरे । त्यस्तैगरी भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकूलपति इन्द्र रेग्मीले पनि ती वाचित गजलमाथि आफ्नो अभिमत राखे । उक्त कार्यक्रममा गजल मञ्च चितवनका उपाध्यक्ष कमल अर्यालले पनि आफ्नो प्रतिक्रिया सुनाए । त्यसैगरी गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायास, सचिव प्रमिला सानु, सदस्य सुमन घिमिरे, अभिव्यञ्जना साहित्य प्रतिष्ठानका अध्यक्ष विद्या भण्डारी चिरागले सहमति जनाउने काम गरे ।
किसान प्रेमीको निवासमा भएको उक्त कार्यक्रमको सहजीकरण गजलकार विनोद अनुजले गरेका थिए । अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उनले स्वागत मन्तव्य राख्दै कार्यक्रमको सम्पूर्ण जिम्मा गजलकार किसान प्रेमीलाई दिएका थिए । त्यसपछि अनौपचारिक रुपमा गजल गायन र प्रतिक्रिया दिँदै अगाडि बढेको थियो ।