भरतपुर, १० पुस ।
रक्तक्यान्सर भएर उपचाररत चितवनका पत्रकार भुपराज पाठकको उपचारमा सहजीकरण गराउन चितवन फ्लेक्सले आर्थिक सहयोग उपलब्ध गराएको छ । नेपाल पत्रकार महासंघ चितवनको रोहवरमा ५ हजार १ सय रुपैयाँ उपलब्ध गराइएको हो । बुधबार फ्लेक्सको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा सञ्चालक गुणराज दाहालले महासंघ चितवन शाखाका अध्यक्ष वसन्तराज पराजुलीलाई उक्त सहयोग रकम उपलब्ध गराउनुभएको हो । नारायणगढको कमलनगरमा १८ वर्ष अगाडिदेखि सञ्चालनमा रहेको चितवन फ्लेक्सले शुरुआतदेखि नै सामाजिक एवम् परोपकारी सेवामा सहजीकरण गरिरहेको सञ्चालक दाहालले बताउनु भयो ।
माडी निवासी पत्रकार, कलाकार एवम् शिक्षक पाठक जटिल किसिमको अर्बुद रोगका कारण भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँको उपचारमा ५० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने भएपछि आफन्त र शुभचिन्तकको पहलमा देशैभर र प्रवासका विभिन्न ठाउँबाट आर्थिक सहयोग जुटाउन अभियान चलिरहेको छ ।
नेपाल पत्रकार महासंघ चितवनले पनि जटिल स्वास्थ्य समस्याका कारण उपचाररत पत्रकारहरु भूपराज पाठक र संगीता बानियाको उपचारका लागि आर्थिक संकलन गर्ने निर्णय गर्दै सहयोगको लागि सबैमा आह्वान गरेको छ । महासंघका अध्यक्ष वसन्तराज पराजुलीले संकलित रकम यसै हप्ता बिरामी पत्रकारका परिवारलाई उपलब्ध गराइने जानकारी दिनुभयो ।