मकवानपुर, ९ पुस ।
जलवायु कार्यको स्थानीयकरण : सार्वजनिक सम्पदा संरक्षण र न्यायमा लैङ्गिक दृष्टिकोणबारे प्रदेशस्तरीय संवाद कार्यक्रम हेटौंडामा भएको छ । कार्यक्रमको उद्घाटन गर्दै बामगती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनलाई औपचारिकतामा मात्रै सिमित गरिन नहुने बताए ।
‘ईआईए रिपोर्ट छ वा छैन भन्ने मात्र हेरिन्छ, रिपोर्टमा के छ भनेर हेर्ने गरिँदैन, यो चलन हट्नुपर्छ, प्रभाव हेरेर काम गर्नुपर्छ’ उनले भने । वातावरण संरक्षणमा सबैको दायित्व रहेको भन्दै उनले यसमा सबै पक्ष उत्तिकै सजग हुनुपर्ने बताए । वातावरणीय प्रभावलाई मूल्यांकन र समाधान गरेर काम गर्नुपर्ने र प्रदुषण न्यूनीकरणमा लाग्नुपर्ने र बाँकी काम गर्दै जानुपर्ने उनकाे भनाई थियो ।
बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले सरकार बलियो बनाउन स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताइन् । स्थानीय उत्पादन, महिला उद्यमीलाई आफूले प्राथमिकता दिएको भन्दै उनले उद्यमशीलता र वातावरणमैत्री वनजन्य उत्पादनलाई जोडेर लगिएको स्पष्ट पारिन् । उनले प्राकृतिक सम्पदा र सार्वजनिक सम्पत्तिको संरक्षणमा सबैले जोड दिनुपर्ने बताइन् । कार्यक्रममा उठेका महत्वपूर्ण विषयहरुलाई प्रदेश सरकारसम्म ल्याइदिन आग्रह गर्दै उनले त्यस्ता विषयलाई सम्बन्धित निकायमा लैजान आफ्नो तर्फबाट गर्नुपर्ने भूमिका पूरा गर्ने स्पष्ट पारिन् ।
बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले प्लाष्टिक नियन्त्रण र प्रकृतिको संरक्षणमा जोड दिए । हाम्रा क्रियाकलापहरु सुधार गरेर वातावरण जोगाउने हो भने मात्रै नयाँ पुस्तालाई हामीले सुन्दर पृथ्वी हस्तान्तरण गर्न सकिने उनले बताए । मन्त्री सिलवालले भने ‘पृथ्वीलाई नोक्सान पार्ने मान्छे नै हो, यो पृथ्वीलाई अरुले नोक्सान गरेको छैन, त्यसैले यसको संरक्षण पनि हामीले नै गर्नुपर्छ ।’
यसैगरी माडी नगरपालिका चितवनका नगर प्रमुख ताराकुमारीकाजी महतोले प्राकृतिक सम्पदाको सम्भावनासँगै स्थानीय तहमा कानूनी जटिलताका कारण काम गर्न समस्या भएको बताइन् । ‘संघीय कानून अनुसार चल्नुपर्छ,सरकार भन्नै अफ्ठ्यारो लाग्छ’उनले भनिन् । कतिपय अवस्थामा कानून बाझिने स्थिति रहेको भएपनि आफ्नो स्थानीय तहले सम्पदाको संरक्षण गर्दै जलवायु परिवर्तन न्यूनीकरणका क्रियाकलापहरु गर्दै आएको उनले बताइन् ।
कार्यक्रमा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, गैर सरकारी संस्था महासंघ बागमती प्रदेशका कार्यवाहक अध्यक्ष कमलकुमार विश्वकर्मालगायतले जलवायु कार्यको स्थानीयकरण सम्बन्धमा आफ्नाे भनाई व्यक्त गरेका थिए । एक्सन एड नेपालका महिला अधिकार कार्यक्रम परियोजना अधिकृत कविता बस्नेतले जलवायुका सवालमा हाम्रो स्थान के छ ? वा यस सम्बन्धी बनेका ऐन, ऐनका कार्य र प्रभाव, कार्वन व्यापार र लाभलगायत विषयबारे देशको अवस्था झल्काउने प्रस्तुति गरेकी थिइन् । वन तथा वातावरण र जलवायुसँग सम्बन्धित यथेष्ट ऐन, नियम र नियमावलीहरु बनेको भए तापनि यसको कार्यान्वयन प्रक्रिया वा सजाय र न्याय सरल नभएको विषय उनले बताइन् । प्राध्यापक समीक्षा श्रेष्ठले सहरी विकास योजना सम्बन्धी प्रस्तुति गर्दै सार्वजनिक सम्पत्तिको नास हुँदै गएको र मानवीय जीवन पनि जोखिममा परेको विषय बताइन् ।
कार्यक्रममा दुईवटा प्यानल छलफल भएको थियो । जस अन्तर्गत पहिलो छलफलमा प्रदेश र स्थानीय सरकारमा जलवायु कार्यहरु विस्तार गर्ने जलवायु योजनाहरु र बजेट निर्माण तथा कार्यान्वयनका विषय रहेको थियो । उक्त छलफलमा बागमती प्रदेश सभा सदस्य भारती पाठक, पर्यावरण पत्रकार प्रतीक घिमिरे र दीगो विकास संस्थाका कार्यक्रम निर्देशक अभिषेक श्रेष्ठ प्यानलिष्ट थिए । जलवायु अभियान्ता सागर कार्कीले सेसन सञ्चालन गरेका थिए । नीति निर्माताले वन तथा वातावरणको क्षेत्रमा संवेदनशील हुनुपर्ने यस छलफलको निश्कर्ष रहेको थियो ।
त्यस्तै, सार्वजनिक सम्पदाको अवधारणा बुझ्ने र यसलाई लैंगिक दृष्टिकोणबाट जलवायु समाधानका रुपमा अन्वेषण गर्ने विषयमा प्यानल छलफल रहेको थियो । छलफलमा नीति तथा योजना आयोग बागमतीका उपाध्यक्ष डा. गङ्गादत्त नेपाल, माडी नगरपालिकाका योजना अधिकृत शिव प्रसाद सुवेदी, प्राकृतिक स्रोतमा महिला अधिकार सञ्जालका अध्यक्ष आरती पाठक र प्राकृतिक स्रोत व्यवस्थापन, जैविक विविधता संरक्षण र पर्यावरणीय पर्यटनका विशेषज्ञ डा. रोचन शेरचन प्यानलिष्ट थिए । सेसनको सहजीकरण जलवायु अभियन्ता निश्चल बानियाँले गरेका थिए । प्राकृतिक स्रोतसँग महिलाहरु नजिक रहेको र यसलाई महिलाहरुले नै बुझ्ने तथा व्यवहार गर्ने गरेकोले महिलाहरुलाई जोडेर लैजान सकेमा प्रभावकारी हुने यस छलफलको निष्कर्ष थियो ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्य तथा मकवानपुर महिला समूहका अध्यक्ष कमला सुवेदीको सभाध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठ र वनमन्त्री कृष्ण प्रसाद सिलवालको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, कृषि तथा वन विश्वविद्यालय, वन संकाय, हेटौंडाका सहायक डिन सञ्जय उपाध्याय, लिलुकुमारी मगर, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीको आतिथ्य रहेको थियो । कार्यक्रममा विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधिहरु र समुदायमा गठन भएको समूहका प्रतिनिधिहरु सहभागी भएका थिए ।
जलवायु सम्बन्धी संघीय कानून, जलवायु कार्यको स्थानीयकरण तथा सार्वजनिक सम्पदा संरक्षण र न्यायमा लैंगिक दृष्टिकोणबारे छलफल गर्ने उद्देश्यका साथ एक्सन एड नेपाल, मकवानपुर महिला समूह र चितवन सक्रिय महिला प्रतिष्ठानले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बेटर चितवन, जीवन्त नेपाल, सिडिए नेपाल, एम्नेस्टी इन्टरनेशनल फरेस्टी युथ नेटवर्क, दीगो विकास इन्स्टीच्युट, एनवाईसिए हेटौंडा, एफओएफ हेटौंडा, ग्रिन फाउण्डेशन र बागमती युनेस्को क्लबको सहकार्य रहेको थियो । मकवानपुर महिला समूहका कार्यक्रम संयोजक तथा महिला अधिकारकर्मी निशा लामा र जीवन्त नेपालका अध्यक्ष तथा युवा जलवायु अभियन्ता प्रसुज मैनालीले कार्यक्रम सञ्चालन गरेका थिए ।
स्थानीय बनकरिया महिला, चेपाङ महिला र समूहमा आबद्ध महिलाहरुले उत्पादन गरेको घरेलु उत्पादन एवम् बेत, बाँस, पात र काठबाट बनेका सामग्री, गुन्द्रुक एवम् बिरुवाहरु अतिथिहरुलाई मायाको चीनोका रुपमा हस्तान्तरण गरिएका थिए । समारोहमा युवा कवि स्वस्तिका बानियाँले जलवायु सम्बन्धी कविता प्रस्तुत गरेकी थिइन् । साथै, सो अवसरमा जलवायु सम्बन्धी चित्रकला प्रदर्शनी, महिला उद्यमीहरुको उत्पादन प्रदर्शनी प्रस्तुत गरिएका थिए ।