गैँडाकोट, ९ पुस ।
गैँडाकोट हाफ म्याराथनको दोस्रो संस्करण यही पुस १५ गते हुने भएको छ । विजय फाउण्डेसन नेपालको आयोजनामा हुने गैँडाकोट हाफ म्याराथनका लागि आवेदन खुलेको सोमबार गैँडाकोटमा भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । गैँडाकोट हाफ म्याराथनको तयारी तीव्र रहेको फाउण्डेसनका अध्यक्ष त्रिलोचन सापकोटाले बताउनुभएको छ । अध्यक्ष सापकोटाले यस म्याराथनलाई तन, मन र धनले सहयोग गर्न आग्रह गर्नुभएको छ ।
आगामी वर्षबाट गैँडाकोट हाफ म्याराथन च्यारिटिको लागि अपिल गर्दै सञ्चालन गरिने अध्यक्ष सापकोटाले बताउनुभयो । गैँडाकोट नगरपालिका वडा नम्बर १ देखि ९ सम्मका सबै वडालाई समेट्ने गरी म्याराथनको म्यापिङ गरिने अध्यक्ष सापकोटाले बताउनुभयो । हाफ म्याराथनमा २१ किलोमिटर दूरी तय गरिएको छ । बालबालिकाका लागि ५ किलोमिटर दूरी तय गरिएको छ ।
फाउन्डेसनका अध्यक्ष सापकोटाका अनुसार म्याराथनमा सहभागिताका लागि २ सय ५० रुपैयाँ प्रवेश शुल्क लाग्ने छ । विजय विकास स्रोत केन्द्र, विजय एफएम र गैँडाकोट हाफ म्याराथनका सहयोगी कार्यकर्तासँग भेटेर फर्म भर्न सकिने उहाँले बताउनुभयो ।
गैँडाकोटको नाम अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन आयोजित गैँडाकोट हाफ म्याराथन २०८१ मा प्रथम पुरस्कार रु १ लाख, द्वितीय पुरस्कार ५० हजार रुपैयाँ, तृतीय पुरस्कार २५ हजार र उत्कृष्ट ५ जनालाई प्रतिव्यक्ति रु ५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
यसैगरी महिलातर्फ प्रथम पुरस्कार रु २५ हजार, द्वितीय पुरस्कार १५ हजार रुपैँया, तृतीय पुरस्कार १० हजार र पुरस्कार रहेको छ ।
यस्तै विद्यार्थी मैत्री दौड प्रतियोगिताको आयोजना गरिएको छ । गैँडाकोट नगरपालिका भित्रका कक्षा ८ देखि १० सम्मका विद्यार्थीले यस प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । यस प्रतियोगितामा प्रथम पुरस्कार रु १० हजार, द्वितीय पुरस्कार रु ५ हजार र तृतीय पुरस्कार रु ३ हजार रहेको छ ।
गैँडाकोट नगरपालिका, विजय परिवार, लामिनार टायल भरतपुरको होलसेलर कजरिया टायल सहयोगीका रुपमा रहेका छन् भने बैकुण्ठ मानन्धर स्पोर्टस क्लबले प्राविधिक सहयोग गर्नेछ । यसअघि २०८० सालमा पहिलो संस्करण सम्पन्न भएको थियो ।