भरतपुर, ९ पुस ।
उद्योग वाणिज्य संघ चितवनले गम्भीर प्रकृतिको रोगबाट प्रभावित भएर उपचाररत पत्रकारका लागि २५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
चितवनका पत्रकारहरूलाई स्वागत एवम् छलफल कार्यक्रमका अवसरमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले नेपाल पत्रकार महासंघ चितवन शाखाका नवनिर्वाचित अध्यक्ष वसन्तराज पराजुलीलाई क्यान्सर रोगबाट प्रभावित पत्रकारको उपचारका लागि उक्त सहयोग रकम उपलब्ध गराएका हुन् । उद्योग वाणिज्य संघ चितवनको सभाहलमा मंगलबार आयोजित कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले नवनिर्वाचित पत्रकारलाई बधाई व्यक्त गर्दै पत्रकारहरूले पेशागत मर्यादा अनुरुप काम गर्नेमा आफू विश्वस्त रहेको बताए । उद्योग वाणिज्य संघ चितवनले यहि पुस १५ गतेदेखि नारायणी नदी किनारमा चितवन महोत्सवको १५ औँ शृङ्खला आयोजना गर्न लागेको उनले बताए । `पुस २५ देखि माघ १० गतेसम्म चल्ने महोत्सवमा कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई प्राथमिकतामा राखिएको छ । महोत्सवलाई सफल बनाउन सम्पूर्ण पत्रकार साथीहरूको रचनात्मक सहयोगको अपेक्षा गरेका छौँ´, अध्यक्ष श्रेष्ठले भने ।
नेपाल पत्रकार महासंघको गत मंसिर २८ गते देशैभर निर्वाचन भएको थियो । चितवनबाट वसन्तराज पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्माण भएको छ । कार्यसमितिले सोमबार पदभार ग्रहण गरेको छ । पदभार ग्रहण लगत्तै बसेको महासंघको पहिलो बैठकले जटिल स्वास्थ्य समस्याका कारण उपचाररत पत्रकारहरु भूपराज पाठक र संगीता बानियाको उपचारका लागि आर्थिक संकलन गर्ने निर्णय गर्दै सहयोगको लागि सबैमा आह्वान गरेका छ । महासंघका अध्यक्ष वसन्तराज पराजुलीले संकलित रकम यसै हप्ता बिरामी पत्रकारका परिवारलाई उपलब्ध गराइने जानकारी दिए ।
व्यक्तिगत रूपमा अध्यक्ष वसन्तराज पराजुली र सचिव राजेश घिमिरेले पनि दुबैजना पत्रकारलाई आफ्नो तर्फबाट ५/५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणासमेत गरे । त्यसैगरी नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष दीपेन्द्र अधिकारीले पत्रकार पाठक र बानियासहित रौतहटका पत्रकार फणी महतोको उपचारका लागि जनही ११ हजार २२० रुपैयाँ उपलब्ध गराउने जनाए । अधिकारी अघिल्लो कार्यकालमा सचिव पदमा थिए । उनले आफ्नो कार्यकालमा विभित्र कार्यक्रममा जाँदा प्राप्त भएको भत्ता र सेवासुविधा बापतको एकमुष्ट रकम ३३ हजार ६६० रुपैयाँ पत्रकारहरूको उपचारका लागि उपलब्ध गराउने घोषणा गरेका हुन् ।