भरतपुर, ८ पुस ।
रक्तक्यान्सर भएर भारतमा उपचाररत चितवनका पत्रकार भुपराज पाठकलाई विभिन्न विद्यालयका शिक्षकहरू, सेवाभावी व्यक्तिहरूबाट सङ्कलित रकम नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनले आर्थिक सहयोग स्वरुप जम्मा गरेको छ ।
पत्रकार पाठकको उपचारमा एक लाख एक हजार एक सय एघार रुपैयाँ सहयोग गरिएको हो । संगठन चितवनका कोषाध्यक्ष देवप्रसाद पण्डितले उक्त रकम सहयोग समितिका उपाध्यक्षद्वय रामचन्द्र लम्साल र हरिप्रसाद न्यौपाने साथै संगठन चितवनका उपाध्यक्ष रामजी भण्डारी, इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, सह कोषाध्यक्ष दुर्गा लामिछाने, साथै आजीवन सदस्य भेषबहादुर परियारको रोहबरमा निज बिरामीको खातामा रकम हस्तान्तरण गरेका थिए ।
सहयोग रकम बुझ्दै रक्तदाता अभियन्तासमेत रहेका न्यौपानेले शिक्षक संगठन चितवनले परोपकारी काममा सहकार्य गरेर आफ्नो गरिमालाई उच्च बनाएको प्रतिक्रिया दिए । भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा रक्तक्यान्सर प्रभावित पाठकको उपचार सुरु भएको छ । करिब ५० लाख रुपैयाँ खर्च लाग्ने उपचारका लागि पाठकको घर चितवन माडीसँगै देशैभर र प्रवासका विभिन्न ठाउँबाट आर्थिक सहयोग जुटाउन अभियान चलिरहेको छ ।