भरतपुर, ८ पुस ।
उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको मातहतमा रहेको चितवन उद्योग तथा वाणिज्य कार्यालयको नवनिर्मित भवनको उद्घाटनसँगै एकीकृत सेवा प्रवाह कक्ष सञ्चालनमा आएको छ ।
बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले सोमबार भवनको उद्घाटन गरेकी हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री तामाङले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्न निर्देशन दिइन् । उनले कार्यालयमार्फत एकद्वार प्रणालीबाट सेवा उपलब्ध गराउन समेत जोड दिइन् ।
कार्यालयका प्रमुख विनोद पौडेलका अनुसार नवनिर्मित भवन सञ्चालनमा आएसँगै सेवाग्राहीलाई क्युआर कोडमार्फत राजस्व भुक्तानी, नागरिक बडापत्र, निःशुल्क वाईफाई, स्तनपान कक्षा र प्रतीक्षालय कक्षको सुविधा प्रदान गरिने जनाइएको छ ।
कार्यक्रममा प्रदेश सचिव राजेन्द्रकुमार केसिको सभाध्यक्षतामा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, चितवन उद्योग संघका अध्यक्ष मदन भण्डारीलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
यस भवन सञ्चालनले सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।