मकवानपुर, ८ पुस ।
मकवानपुर र बारा जिल्लाको सिमानामा पर्ने १०० वर्ष पुरानो दक्षिण एसियाकै पहिलो ‘सुरुङ’ को पुननिर्माण कार्य सकिएको १७ महिनापछि सोमबारबाट सर्वसाधारणका लागि खुला गरिएकाे छ ।
हेटौंडा उपमहानगरपालिका १५ स्थित चुरियामाईं मन्दिरसँगै रहेको उक्त सुरुङ मार्ग प्रदेश सरकारले जीर्णोद्धार गरी सञ्चालनका लागि सोमबार हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेसँगै संचालनमा आएकाे हाे । बागमती प्रदेश सरकारले वर्षौंदेखि जीर्ण सुरुङको पुनर्निर्माण १४ साउन २०७८ बाट शुरूआत गरेकाे थियो। बागमती प्रदेश सरकारको लगानीमा सुरुङको जोर्णोद्धार कार्य जेठ २०८० मा सकिएको थियो । हस्तान्तरणको प्रक्रिया नै लम्विएकाले सर्वसाधारणलाई सुरुङ खुला गर्न सकिएको थिएन् ।
पुनर्निर्माणपछि बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले सोमबार उपमहानगरपालिका कार्यालयलाई सुरुङ हस्तान्तरण गरेकाे हाे । हस्तान्तरण पछि उपमहानगरपालिकाले व्यवस्थित चुरियामाई सुरुङ अवलोकनका लागि खुला गर्नेछ । सोमबार मुख्यमन्त्री बहादुर सिंह लामाले सुरुङ्ग मार्गकाे चावी नगर प्रमुख मिनाकुमारी लामालाई हस्तान्तरण गरेका थिए ।
काठमाडौंलाई मकवानपुरको हेटौंडा हुँदै तराईसँग जोड्न प्रधानमन्त्री चन्द्रशमशेर राणाको पालामा चुरियामाई सुरुङमार्ग निर्माण भएको थियो । यो ऐतिहासिक सुरुङमार्गको करीब ४० मिटर खण्ड भत्किएको थियो। त्यसलाई मर्मत गरेर वारपार गर्न सक्ने बनाइएको बागमती प्रदेशको भौतिक पूर्वाधार निर्देशनालय निर्देशक पुष्करप्रसाद पोख्रेल बताए । उनका अनुसार उपमहानगर र निर्देशनालयबीच सहमति भएअनुसार मर्मतसम्भार प्रदेश सरकारले गर्नेछ भने कर संकलन उपमहानगरले गर्ने छ । सुरुङमार्ग भन्नासाथ सवारीमै ओहोरदोहोर गर्ने भन्ने बुझिन्छ तर यो त्यस्तो सुरुङमार्ग होइन,” पोखरेलले भने “यो सुरुङमार्ग ऐतिहासिक भएकाेले अब अध्ययन, अनुसन्धान र पर्यटनका लागि खुला भएकाे छ।”
सुरुङमार्ग हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण अघि हेटौंडा उपमहानगरपालिकाले चुरियामाई सरुङ सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८१ बनाएकाे छ । ऐतिहासिक सुरुङ खुला भएकाेमा खुसी व्यक्त गर्दै चुरियामाई संरक्षण समितिका अध्यक्ष प्रेम भोम्जनले भने, ‘निर्माण सकिएकाे यतिका समयसम्म आउने पर्यटकले बाहिरबाट हेरेर जाने गरेका थिए । दुवैतर्फ ढोका खुले पछि अवलोकनका लागि आन्तरिक एव बाह्य पर्यटकहरु आउने छन्।’
तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा सन् १९१७ मा उक्त सुरुङ निर्माण गरिएको थियो । मुलुककै ऐतिहासिक सुरुङको बीच भाग भासिएर अत्यन्त जोखिम अवस्थामा रहेको थियो । करिब २२५ मिटर लामो सुरुङ मार्गलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर जीर्णोद्धार कार्य गरेको हो ।
नेपालका प्रथम ग्राजुएट इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा निर्माण भएको ‘चुरियामाई सुरुङ’ मार्गको जीर्णोद्धार गरिएको वाग्मती प्रदेश यातायात पुर्वाधार निर्देशनालयका निर्देशक पुस्करराज पोखरेलले बताए । सुरुङ मार्गभित्र विद्युतीय लाइट जडान गरिएको छ । एक सय ७ वर्षअघि निर्माण गरिएको उक्त सुरुङको छेउमै सुरुङका डिजाईनर ईन्जिनियर थापाको अर्धकदको सालिक निर्माण गरिएको छ । इन्जिनियर थापाले अमलेखगन्जदेखि भीमफेदीसम्म सडकको पनि डिजाइन गरेका थिए ।
७०० मिटर लम्बाइ, ९ फिट चौडाइ र १० फिट उचाइ रहेको उक्त सुरुङ मार्ग मालवाहक सवारी ‘लहरी’ छिर्ने आकारमा निर्माण गरिएको थियो । एक दशकभन्दा बढी उक्त सुरुङ मार्ग हुँदै साना हलुका सवारी साधनहरू आवतजावत गरे । पथलैया–हेटौँडा सडक निर्माण भएपछि यो सुरुङ प्रयोगमा रहेन । बाराको अमलेखगन्जलाई मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीसंग जोड्ने सडक निर्माण गर्न गर्ने बेला यो सुरुङ निर्माण गरिएको थियो ।
डा. टोनी हेगनले प्रकाशित गरेको ‘नेपाल’नामक पुस्तकमा चुरियाको सुरुङबारेमा पनि उल्लेख गरेका छन् । २४ अक्टोबर १९५० का दिन रक्सौल नाका हुँदै वीरगन्ज अमलेखगन्जसम्म सानो रेल, अमलेखगन्जबाट सानो जीपमा भीमफेदी आउने क्रममा हालको मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको चुरियाडाँडाको उकालो चढ्ने क्रममा देखेको मानव निर्मित सूरुङले आफू आठौँ आश्चर्यमा परेको हेगनले उल्लेख गरेका छन्।
राणाकालमा रक्सौलबाट अमलेखगञ्जसम्म रेल चल्थ्यो, त्यहाँबाट मकवानपुरको भीमफेदीसम्म बनाइएको सडकमार्गमा चुरे पहाड छिचोल्दै हेटौंडा छिर्न सजिलो थिएन । त्यसैले पहाडमा घुमाएर बाटो बनाउनुको साटो सीधा सुरुङमार्ग खनियो र गाडी चलाइयो । सुरुङमार्ग खन्ने क्रममा चन्द्रशमसेरको सपनामा देवीले मेरो मार्गमा सुरुङ नखन्न भनेपछि क्षमा स्वरूप मन्दिर स्थापना गरेर सुरूङ खनिएको भन्ने किवंदन्ती छ ।
हेटौंडा बजारबाट करिब ९ किलोमिटर दक्षिणमा चुरियामाई मन्दिर छ । त्यहाँको सडक अहिले पनि केही उकालो छ । त्यसैले सडक पीच नगरी कंक्रिटमात्र छ । त्यसकै समीपमा सय वर्षअघिको ऐतिहासिक सुरुङमार्ग भग्नावशेषकाे रुपमा देखिदै आएकाेमा अव पुर्निर्मित स्वरुपमा देख्न सकिनेछ ।तत्कालीन समयमा त्यस्तो उकालो पहाडमा बाटो बनाउन गाह्रो भएकाले विकल्पमा सुरुङमार्ग खनिएको बताउँछन् स्थानीय जानकार बिके महर्जन । काठमाडौंसम्म जोडिने सडक नभएकाले त्यहाँबाट भरिया लगाएर काठमाडौंसम्म समान पुर्याइन्थ्यो । काठमाडौंमा चल्ने राणाका गाडी पनि भीमफेदीसम्म यही सुरुङ मार्ग छिचोल्दै पुग्थे ।
प्रजातन्त्र पुनर्स्थापनापछि त्रिभुवन राजपथ बन्यो । त्यसै क्रममा यो सुरुङमार्गको बीच खण्डमा विष्फोट गराएर भत्काइयो र त्यसैमाथि सडक बनाइयो । सडक छेउमा देखिएका सुरुङका मुखहरु थुनिएका थिए । यो ऐतिहासिक सुरुङ मार्गको एउटा खण्ड करिब ४० मिटर भत्किएको थियो । त्यसलाई मर्मत गरेर वारपार गर्न सक्ने बनाइएको हो ।
अवलोकन शुल्क कति ?
उपमहानगरपालिकाले चुरियामाई सुरुङलाई पर्यटकीय स्थलका रुपमा सञ्चालन गर्न कार्यविधि निर्माण गरिसकेको छ । उक्त कार्यविधिमा सुरुङ अवलोकन गर्न आउने नेपालीलाई ५० रुपैयाँ र विदेशीलाई १२० रुपैयाँ शुल्क लाग्ने उल्लेख छ । विद्यार्थीहरुलाई २० रुपैयाँ प्रवेश शुल्क लाग्ने छ । पाँच वर्ष मुनिका बालबालिका, अपाङ्ग र जेष्ठ नागरिकले निःशुल्क अवलोकन गर्न पाउने छन् ।
चुरियामाई सुरुङ सञ्चालन कार्यविधि बनाएर उपमहानगरले पर्यटकीय स्थलको रुपमा विकसित गर्नेगरी अगाडि बढेको उपमहानगरपालिकाका प्रवक्ता तथा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले जानकारी दिए । उपमहानगरपालिकालाई हस्तान्तरण भएपछि सम्बन्धित समितिलाई नै सञ्चालनका लागि हस्तान्तरण गर्न सक्ने कार्यविधि नगरपालिकाले बनाएको छ ।
राणा प्रधानमन्त्री श्री ३ चन्द्र शम्शेरको पालामा वि.सं. १९७४ सालमा नेपाली सेनाका इञ्जिनियर डिल्लीजंग थापाले सुरुङमार्ग निर्माण गरेका थिए । नेपाली प्रविधि प्रयोग गरेर थापाले सुरुङमार्ग निर्माण गराएका थिए । करिब ५ सय मिटर लामो सुरुङ हुँदै मकवानपुरतर्फबाट प्रवेश गरेर बारा पुगिन्थ्यो । त्यतिबेला भारतबाट भीमफेदी हुँदै काठमाडौं पुर्याउने साना सवारीसाधन ल्याउन सुरुङ बनाइएको थियो ।