चितवन, ८ पुस ।
नेपाल पत्रकार महासंघ चितवन शाखाको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका छन् । सोमबार एक कार्यक्रमबिच निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएर जिम्मेवारी हस्तान्तरण गरेको हो ।
पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्ष नारायणप्रसाद अधिकारीले नवनिर्वाचित अध्यक्ष वसन्तराज पराजुलीलाई अध्यक्षको आसनग्रहण गराएर पद हस्तान्तरण गरेका थिए । निवर्तमान सचिव दीपेन्द्र अधिकारीले नवनिर्वाचित सचिव राजेश घिमिरेलाई माइन्युट हस्तान्तरण गरेका थिए । कार्यक्रममा नवनिर्वाचित केन्द्रीय परिषद र प्रदेश परिषद सदस्यहरुलाई पनि प्रमाणपत्र दिइएको थियो ।
नवनिर्वाचित अध्यक्ष पराजुलीले पत्रकारको हकहित र पत्रकारिताको विकासका लागि सकृय भएर काम गर्ने बताए । उनले पत्रकारिता क्षेत्रमा आउँदै गरेका नयाँ पुस्तादेखि अग्रज पत्रकारहरुका हरेक दुःख सुखमा साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
निवर्तमान उपाध्यक्ष प्रकाशमणि ज्ञवालीले आफू निर्वाचनमा उपविजेता भए पनि आगामी दिनमा पत्रकार र अन्य संगठनसंँग हातेमालो गर्दै अघि बढ्ने बताए । कार्यक्रममा महासंघका केन्द्रीय सचिव सिर्जना अर्याल, नेपाल प्रेस युनियनका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलगायतले पत्रकारको हकहित र अधिकारका लागि महासंघ लड्नुपर्ने भन्दै नवनिर्वाचित सदस्यहरुलाई शुभकामना तथा बधाई दिएका थिए ।
नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ ।