मकवानपुर, ६ पुस ।
उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मकवानपुरको मनहरी गाउँपालिकामा १ वटा भवनकाे शिलान्यास गरेका छन् । सिंहले शनिबार मनहरी गाउँपालिकाकाे प्रशासकीय भवनको शिलान्यास गरेका हुन् ।
यसैगरी बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको जनसम्पर्क कार्यालयको समेत मन्त्री सिंहले उद्घाटन गरेका छन् । मन्त्री सिंहले छुट्टाछुट्टै समयमा गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास र सम्पर्क कार्यालयकाे उद्घाटन गरेका हुन् । मनहरी बजारमा नेपाली काँग्रेसका बागमती प्रदेश सभापति समेत रहेकाे बानियाँको सम्पर्क कार्यालय उद्घाटन गरेका सिंहले मनहरी ४ रजैयामा रहेकाे मनहरी गाउँपालिकाकाे भवनको शिलान्यास गरेका हुन् ।
लामो समयदेखि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको मनहरी गाउँपालिकाले नयाँ प्रशासकीय भवन निर्माण थालेको हो । राष्ट्रिय वन क्षेत्रको जग्गाको स्वामित्व गाउँपालिका अन्तर्गत ल्याएर मनहरीले भवन निर्माण कार्य थालेको गाउँपालिकाकाले जनाएकाे छ । ६ कठ्ठा क्षेत्रफलमा ४२ वटा कोठासहित ३ तले सुविधा सम्पन्न भवन निर्माणकाे शिलान्यास गरिएकाे हाे ।
उक्त भवनकाे निर्माणका लागि तामाकोशी–ढाचा जेभी बालाजु काठमाडौंले निर्माणका लागि गत असोज १४ गते सम्झौता गरेको छ । ८ करोड २८ लाख ६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी काम सुरु गरिएको उक्त भवन निर्माण आगामी २०८२ चैत ३० गते सम्पन्न गर्नुपर्ने छ ।
उपप्रधानमन्त्री सिंहले सम्पर्क कार्यालय उद्घाटन गर्दै जनप्रतिनिधिले जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्न सहज पहुँच हुने स्थानमा कार्यालय स्थापना गर्न जरुरी रहेको बताए । देशमा जवजव जटिल समस्या पर्छ कांग्रेसले नेतृत्व लिएर समाधान गरेको विगतका उदाहरणहरु रहेकाे बताउँदै उपप्रधानमन्त्री सिंहले कांग्रेसको नेतृत्वमा मात्रै विकास र समृद्धि सम्भव भएको बताए ।
कांग्रेस बागमती प्रदेश सभापति एवं प्रदेशसभा सदस्य बानियाँले चुनावको बेला मतदातामाझ गरेको प्रतिवद्धता अनुरुप कार्यालय स्थापना गरिएकाे जानकारी दिए । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी बजारमा मतदाताको गुनासो सुन्न तथा साझा सम्पर्क थलोको रुपमा विकास गर्न कार्यालय खोलिएको उनले बताए ।