मकवानपुर, ६ पुस ।
राष्ट्रिय युवा कविता उत्सव–२०८१ अन्तरगत भएकाे खुला कविता प्रतियोगितामा कास्कीका संयोग बस्याल प्रथम भएका छन् । हेटौंडामा शनिबार भएकाे खुला कविता प्रतियोगितामा बस्यालकाे ‘सावधान’ शीर्षककाे कविताले प्रथम स्थान हासिल गरेकाे हाे ।
प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजना तथा साहित्य सङ्गम मकवानपुरको सहकार्यमा आयोजित प्रतियोगितामा प्रथम भएका बस्यालले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यसैगरी प्रतियोगितामा कास्कीका कवि सुदर्शन पौडेलकाे कविता `घर नफर्किएको छोराको सम्झनामा´ द्वितीय भएकाे छ । पौडेलले ३० हजार रुपैयाँ हात पारे । उदयपुरकी सुमी पोखरेलकाे `समयदर्शक यन्त्रको पर्दा नियाल्दा´ शीर्षकको कविता तृतीय भयो । कवि पोखरेल तृतीय हुँदै २० हजार रुपैयाँ हात पारिन् । प्रतियोगितामा कवि महेश कठायतले सान्त्वना पुरस्कार प्राप्त गरे । बझाङका कवि कठायतकाे `देश´ शीर्षककाे कविता सान्त्वना हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।
खुला कविता प्रतियोगिताकाे लागि देशभरबाट २ सय २३ कविता प्राप्त भएका थिए । प्राप्त कविता मध्ये मूल्याङ्कन समितिले उत्कृष्ट २० कविता छनोट गरी नामावली सार्वजनिक गरेकाे थियाे । प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजना तथा साहित्य सङ्गम मकवानपुरको सहकार्यमा आयोजित राष्ट्रिय युवा कविता उत्सव २०८१ मा उत्कृष्ट २० वटा कविता स्वयं कवि उपस्थित भई वाचन गरिएकाे थियाे ।
उत्कृष्ट २० मा पर्न सफल कविता र कविहरूको नामावली वर्णानुक्रमानुसार प्रकाशन गरिएको थियाे । प्रतियोगितामा विजेता कवि तथा कविताका अलावाका उत्कृष्ट २० मा अग्रिमा शिवाकोटी (मकवानपुर)काे `रित्तिँदैछ देश’, अभिषेक ओझा (बारा)काे ‘विसंवाद’, कुष्मा लौडारी (मकवानपुर)काे ‘डिजिटल संसारको मायाजाल’, तारानाथ पराजुली (पर्वत)काे ‘पागल प्रकृतिप्रेमीको बयान’, दीपिन सिंजापति (दैलेख)काे ‘आकाङ्क्षा’, प्रदीप कोइराला (तनहुँ)काे ‘म’, बाबुराम श्रेष्ठ यात्री (सिन्धुली)काे ‘आमा, देश र माटो’, भरत थापा (धनकुटा)काे ‘हर्कमाया दर्जी र झन्डाको व्यापार’, भीमप्रसाद खतिवडा अनुराग (दोलखा)काे ‘जीवन एक पाठशाला’ शीर्षकका कविता छानिएका थिए ।
यसैगरी रञ्जिता अधिकारी (धादिङ)काे ‘परिवर्तन लेख्ने हातहरु’, राजु झल्लु प्रसाद (धादिङ)काे ‘खिया’, रुपा ढुङ्गेल (मकवानपुर)काे ‘म शिक्षा मन्त्री भए’, सिजन श्रेष्ठ (संखुवासभा)काे ‘उर्वशी’, सुन्दर शिरिष (सिन्धुपाल्चोक)काे ‘जहाज चढ्न मन छैन आमा’, सुबास सजल (मकवानपुर)काे ‘डरलाग्दो अन्त्य मानव सभ्यताको’, सुमित्रा सुमी (नुवाकाेट)काे ‘बुद्ध आऊ’ शीर्षकका कविता छनोटमा परेका थिए ।