चितवन, ६ पुस ।
रक्तक्यान्सर प्रभावित भुपराज पाठकको उपचार सहयोगार्थ चितवन भरतपुरस्थित एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेजले ५० हजार रुपैयाँ सहयोग गरेको छ । कन्सल्टेन्सीले शुक्रबार एक कार्यक्रमको औपचारिक समुद्घाटनका अवसरमा पाठकको उपचारका लागि उक्त रकम उपलब्ध गराएको हो । एक्सपर्ट नेपालका निर्देशक खेम सङ्ग्रौला र एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले उपचार सहयोग समितिका उपाध्यक्षद्वय रामचन्द्र लम्साल र हरिप्रसाद न्यौपानेलाई सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
एक्सपर्टले शुक्रबार साँझ एनुअल अवार्ड नाइट (कर्मचारीहरुलाई सम्मान) कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमको औपचारिक उद्घाटनका क्रममा अन्य नियमित प्रक्रिया र स्वरुपलाई परिवर्तन गर्दै सहयोग रकम उपलब्ध गराएर कार्यक्रमको उद्घाटन गरिएको एक्सपर्ट चितवनका विजनेस डेभलपमेन्ट मेनेजर विनोदबाबु रिजालले बताउनु भयो । सहयोग रकम बुझ्दै रक्तदाता अभियन्तासमेत रहनुभएका न्यौपानेले एक्सपर्टले परोपकारी काममा सहकार्य गरेर आफ्नो गरिमालाई उच्च बनाएको प्रतिक्रिया दिनुभयो ।
कार्यक्रममा बोल्दै सहयोग समितिका अर्का उपाध्यक्ष लम्सालले एक्सपर्टको सहयोग मानव जीवनलाई सिँचाइ भएको बताउनु भयो । `रिबन काटेर, मैनबत्ती बालेर, बिरुवामा पानी हालेर कार्यक्रमहरु उद्घाटन गरिन्छन् । तर आज एक्सपर्टले अस्पतालको सैय्यामा रहेको बिरामीको जीवनमा पानी हालिदिएको छ । उसको बाँच्ने आशालाई जीवित बनाएको छ´, लम्सालले भन्नुभयो – `यो अमुल्य सहयोगका निम्ति एक्सपर्ट परिवार प्रति कृतज्ञ छौँ ।´
भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा रक्तक्यान्सर प्रभावित पाठकको उपचार सुरु भएको हो । करिब ५० लाख रुपैयाँ खर्च लाग्ने सो उपचारका लागि माडीसँगै देशैभर र प्रवासका विभिन्न ठाउँबाट आर्थिक सहयोग जुटाउन अभियान चलिरहेको छ । रक्तक्यान्सर प्रभावित पाठकको उपचारका लागि सानै भए पनि सहयोग उपलब्ध गराउन पाउँदा खुसी लागेको एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताउनु भयो ।
अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसँगै आइइएलटिएस/पीटीइ कक्षाहरु समेत सञ्चालन गर्दै आइरहेको छ ।