मकवानपुर, ६ पुस ।
हेटौंडामा मोमिला जोशीको निबन्ध सङ्ग्रह ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ माथि बहस गरिएको थियो । आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजनामा कवि, निबन्धकार जोशीकाे आठौं पुस्तक ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ माथि शुक्रबार बहस गरिएको हाे ।
कार्यक्रममा सहजकर्ता सुवास खनालले लेखन सरल हुनुपर्ने वर्तमान अवस्थामा जोड भइरहेकाेमा लेखकहरूको भाषा कम भइरहेको हो कि भन्ने प्रश्न गरेका थिए । जोशीका विषयमा निमेष निखिलले भाषाको गहिराईमा लेखक जोशीको प्रयोगबाट आफू प्रभावित भएको बताउँदै देवकोटादेखि शङ्कर लामिछानेसम्मले आफ्नो समयमा ल्याउनु भएको युगान्तकारी लेखनजस्तै समकालीन लेखकको तुलनामा मोमिला जोशीको फरक पहिचान बनेको बताए ।
जोशीले “एउटा लेखकले यस्ता विशेषणलाई अन्तिम मान्ने हो भने यसपछि के लेख्ने त ?” भन्ने प्रतिप्रश्न गरिन् । खनालले युद्धहरू नाजायज लाग्दैनन् भन्ने र युद्धले ल्याउने हिंसाका विरूद्धको लेखन देखिन्छ नि भन्ने प्रश्नमा जोशीले भनिन् ‘जीवनमा हर क्षण पुरानै कुराहरूको नियमितता भने होइन ।’
निखिलको धारणामा जोशीले निखिललाई गम्भीर पाठक तथा सुन्दर कविताका सर्जकका रूपमा लिएको बताउँदै पाठकले आफ्नो शक्ति र सीमालाई बुझिदिन आग्रह गरिन् । लेखन तथा वादको सन्दर्भमा जोशीले ‘वाद’ हरूको घेरामा सीमित हुन नरुचाउने स्पष्ट पारिन् । अधिकांश नारी लेखकहरू ‘नारीवादी लेखन’ मा केन्द्रित रहेको प्रसङ्गमा उनले भनिन् ‘बरु कहिलेकाहीं पुरुषवादी जस्तो देखिन सक्छु ।’
सहजकर्ता खनालले मृत्यु चिन्ता वा चिन्तन केको विषय हो भन्ने प्रश्नमा मृत्यु आफ्नो मात्रै नभएर सबैको अनिवार्य रहेकाले पनि बाँचेका समयलाई सुन्दर र सक्रिय अनि अर्थपूर्ण तवरले बाँच्नुपर्ने लेखक जोशीले बताइन् । कार्यक्रममा कविहरू आरएन डङ्गोल, सुबास सजल र निरा शर्माले समेत लेखकसँग सवालजवाफ गरेका थिएन ।
जोशीकाे व्यक्तित्व कृतित्व चर्चा शान्ति प्रीय वन्दना पुस्तकवार्ता सहजीकरण कवि सुवास खनाल तथा बहसकर्ता कवि समिक्षक निमेष निखिलले गरेका थिए । आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाको सभाध्यक्षतामा साहित्य सङ्गम तथा सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा आयोजित कार्यक्रमलाई आँचलकी सचिव सबिता तिमल्सिनाले सहजीकरण गरेकी थिइन् ।