चितवन, ५ पुस ।
सनराइज इङ्ग्लिस सेकेण्डरी स्कुलमा कक्षा ११ मा अध्ययनरत ११ जना विद्यार्थीले पुस्तक पढ्दाका अनुभूतिहरू सुनाएका छन् । सनराइज लिटरेरी लुमिनारी क्लबको आतिथ्यमा सम्पूर्ण किताब नारायणगढले शुक्रबार सनराइज स्कुलमा आयोजना गरेको `म पनि पढ्छु´ कार्यक्रमको पाँचौँ शृङ्खलामा उनीहरूले पठन अनुभूति सुनाएका हुन् ।
कार्यक्रममा धिरज कँडेलले `डेमन आइ´ पुस्तकको टिप्पणी सुनाए । मञ्जिल महतोले बेन्ज्यामिन फ्र्याङ्कलिनको जीवनी पुस्तकको चर्चा गरे । सुभाङ्गी लामिछानेले `योर माइन्ड´ पुस्तकको चर्चा गरिन् भने भविष्य सापकोटाले गिजुभाइको `आमाबाबुलाई प्रश्न´ पुस्तकको चर्चा गरे । यो पुस्तकमा पारिवारिक अस्तित्व र महत्त्वलाई उजागर गरिएको सापकोटाले सुनाए ।
त्यसैगरी रबिना बास्तोलाले कृष्ण धरावासीको `झोला´ कथासङ्ग्रहको चर्चा गरिन् । बास्तोला सनराइज लिटेररी लुमिनरी क्लबकी उपाध्यक्ष हुन् । त्यस्तै सिर्जन भुसालले `बालरामायण´ पुस्तकको चर्चा गरे । उनले करिव १५ मिनेट समय लिएर रामायणका कथालाई आफ्नै ढंगले साथीहरूलाई सुनाए ।
त्यसैगरी सुजाता सापकोटाले `चोरी भयो जुत्ता´ पुस्तकको टिप्पणी गरिन् भने अस्मिता पौडेलले `सिगलको उडान र समुद्रको स्पर्श´ पुस्तकको चर्चा गरिन् । गायत्री श्रेष्ठको यस संस्मरणमा विभिन्न मुलुकको भ्रमणक्रका २० वटा संस्मरण छन् ।
त्यसैगरी प्रशान्त भुसालले `अजिब मान्छे´ पुस्तकको चर्चा गरे । सीताराम कोइरालाले लेख्नुभएको यो पुस्तकमा बाल्यकालीन संस्मरणहरू छन् । त्यस्तै ऋषिका अधिकारीले `नेहरुका चिट्ठीहरू´ र सुष्मा खनालले `धन्य मेरा बा´ पुस्तकको चर्चा गरिन् । विष्णुप्रसाद पौडेल अपरिचितको यो लघुकथासङ्ग्रह हो । सबै विद्यार्थीले आफूले पढेका पुस्तकको विषयवस्तु र पठन अनुभव सुनाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजी अर्याल, प्राचार्य शिवकुमार बगाले, प्लस टु संयोजक जीवलाल चालिसे, शिक्षक रमेश प्रभात, सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले पढाईको महत्वबारे प्रकाश पारेका थिए ।
सनराइज लिटरेरी लुमिनारी क्लबकी उपाध्यक्ष रबिना बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई विद्यार्थीद्वय पल्लवी ढकाल र कामना भुसालले सहजीकरण गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुली र पत्रकार सूर्यप्रकाश कँडेल पनि सहभागी थिए ।