मकवानपुर, ५ पुस ।
हेटौंडामा सडक खाना महोत्सव हुने भएको छ । होटल एशोसिएशन मकवानपुरले पुस १३ गतेदेखि हेटौंडामा ४ दिने सडक खाना महोत्सव आयोजना गर्ने भएको हो ।
हेटौंडा–४ स्थित हुप्रचौरको पूर्वतर्फको सडकमा आउँदो पुस १३ देखि १६ गतेसम्म सडक महोत्सव हुने बिहीबार पत्रकार सम्मेलनमा होटल एशोसिएशन मकवानपुर अध्यक्ष अध्यक्ष दिलिशगोविन्द जोशीले जानकारी दिए ।
`सडकमा जाऔँ, सडकमा खाऔँ, सडकमै रमाऔँ’ भन्ने मूल नाराका साथ सन् २०२५ को पूर्वसन्ध्यामा होटल एशोसिएशन मकवानपुरले सडक खाना महोत्सवको आयोजना गर्न लागेको हो ।
पर्यटन प्रवर्द्धनलाई लक्षित गर्दै सडक खाना महोत्सव गर्ने तयारी गरिएको कार्यक्रम संयोजक शंकरलाल श्रेष्ठले बताए ।
महोत्सवमा खानाका पारखीहरूलाई पौराणिकदेखि आधुनिक परिकारको स्वाद चखाउने र स्थानीय कलाकारहरूको सांस्कृतिक नृत्य, गायनद्वारा भरपुर मनोरञ्जन दिने मुख्य उद्देश्य रहेको अध्यक्ष जोशी बताए ।
जोशीका अनुसार महोत्सवमा ५० वटा स्टलहरु राखिने छ भने १४ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा ४० हजार जनाले अवलोकन गर्ने र ७० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान आयोजकले गरेको छ ।
महोत्सवमा विभिन्न सांस्कृतिक नाचहरूको प्रवर्द्धनको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।