चितवन, ३ पुस ।
वाल्मीकि शिक्षा सदनको रोबोटिक्स क्लब अफ वाल्मीकिले आयोजना गरेको टेक एक्स्पो २.० मा प्रोत्साहन समूह रत्ननगरले उपाधि हात पारेको छ । देशभरका विभिन्न १३ वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा अरोमा कलेज दोस्रो र अङ्कुरम् एकेडेमी तेस्रो भए ।
कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथि प्रा. दयाराम पौडेल, विशिष्ट अतिथिहरु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोर्कणनिवास त्रिपाठी, शिक्षक अभिभावक संघका अध्यक्ष राजु पौडेल र ओमकार जयसवाल रहेका थिए । जयसवालले रोबोटिक्सबारे जानकारी गराएका थिए ।
प्रतियोगिता अन्तर्गत भएका विभिन्न प्रतिस्पर्धामध्ये रोबो ब्याटल, रोबो सकर र रोबो रेसमा प्रोत्साहन समूह विजयी भयो । कम्पिटिटिभ प्रोग्रामिङतर्फ अरोमा कलेज र ह्याकाथनमा गण्डकी बोर्डिङ स्कुल पोखरा विजयी भए ।
रोबोटिक्स क्लब अफ वाल्मीकिका अध्यक्ष अमन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम दिवस न्यौपाने र अंशु श्रेष्ठले सञ्चालन गरेका थिए । कार्यक्रममा बोल्दै शिक्षक विष्णुप्रसाद ढकाल, प्रा. दयाराम पौडेल, प्राचार्य प्रदीप पौडेलले वर्तमान समयमा विज्ञान र प्रविधिमा युवा वर्गको बढ्दो रुचि उल्लेखनीय रहेको विचार व्यक्त गरे ।