भरतपुर, २ पुस ।
भरतपुर–२३, जगतपुरमा यही पुस ३ गते बुधबारदेखि जगतपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । वडाध्यक्ष दीपक दवाडीबाट प्राप्त जानकारीअनुसार दुई संस्थागत विद्यालयसहित कुल ६ वटा विद्यालय प्रतियोगितामा सहभागी हुनेछन् ।
दुई दिनसम्म सञ्चालन हुने यस प्रतियोगितामा १ सय मिटर, ४ सय मिटर र १ हजार मिटर दौड साथै हाइजम्प र लङजम्प प्रतियोगिताहरू आयोजना गरिनेछ । खेलकुदको विविधता थप्नका लागि पुरुष भलिबल र महिला कबड्डी प्रतियोगिता पनि विशेष आकर्षणका रूपमा समावेश गरिएका छन् ।
वडाध्यक्ष दवाडीले विद्यालयस्तरबाटै खेलकुद प्रति रुचि जागृत गराउने र विद्यार्थीहरूको शारीरिक विकास तथा आत्मविश्वास अभिवृद्धि गराउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको बताए । `स्थानीय स्तरमै यस्तो कार्यक्रमले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना र खेलकुदको महत्त्व बुझ्ने अवसर प्रदान गर्नेछ,´ उनले भने ।
खेलकुदको माध्यमबाट प्रतिभाशाली खेलाडीहरू पहिचान गर्दै उनीहरूलाई भविष्यमा थप अवसर उपलब्ध गराउने योजना उनले सुनाए ।
जगतपुरमा पहिलो पटक आयोजना हुन लागेको यस प्रतियोगिताले विद्यालयीय खेलकुद गतिविधिमा नयाँ उर्जा थप्ने अपेक्षा गरिएको छ ।