मकवानपुर, २ पुस ।
बागमती प्रदेश लिग फुटबल प्रतियोगिता पुस १० गतेबाट हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रम अनुसार बागमती प्रदेश फुटबल संघको आयोजनामा हेटौंडामा दोस्रो संस्करणको प्रदेश लिग फुटबल प्रतियोगिता हुने भएको हो ।
मंगलबार हेटौंडामा पत्रकार भेटघाटकाे गर्दै प्रतियोगिता जानकारी प्रदेश फुटबल संघ महासचिव लवराज ठकुरीले दिए । प्रतियोगितामा बागमती प्रदेशका ११ वटा जिल्लाको सहभागिता रहने ठकुरीले बताए । प्रतियोगितामा मकवानपुरको पदमपोखरी युथ क्लबसहित काठमाडौंको चित्लाङ फुटबल क्लब, सिन्धुलीको ब्लु अल्पलाईन क्लब, दोलखाको टाइगर टिम तिखालाल, धादिङको धुनिवासी युवा समाज, नुवाकोट बटार युथ क्लब, सिन्धुपाल्चोकको चौतारा स्पोर्टस् क्लब, चितवनको बीएफसी क्लब, ललितपुर र काभ्रेको माउण्ट एभरेष्ट फुटबल क्लब सहभागी हुनेछन् ।
प्रतियोगिताको उद्घाटन खेल काठमाडौंकाे चित्लाङ फुटबल क्लब र काभ्रेपलाञ्चोककाे माउण्ट एभरेष्ट फुटबल क्लब बीच हुनेछ । ११ जिल्लामा भएको जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि विजेता टिमहरुको प्रतियोगिता सहभागिता रहनेछ । प्रदेश लिग फुटबल प्रतियोगिता लिग कम नक आउट प्रणालीमा सञ्चालन हुने बताइएकाे छ । प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा) काे प्रमुख सहयोग र हेटौंडा उपमहानगरपालिका तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोग रहने महासचिव ठकुरीले जानकारी दिए ।
प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टिमले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएकाे छ । प्रतियोगिता आयोजनाका लागि करिब ३१ लाख रुपैयाँको बजेट खर्च हुने अनुमान गरिएको छ ।
पत्रकार सम्मेलनमा प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामा, एन्फाका केन्द्रीय सदस्य एवम् जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा, प्रदेश फुटबल संघका कार्यवहाक अध्यक्ष राजीव बस्नेत, जिल्लाका उपाध्यक्ष युवराज लामा, महासचिव छवि सुवेदी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइरालाको उपस्थिति रहेको थियो ।