चितवन, ३० मङ्सिर ।
क्षेत्रीय होटल संघ नेपाल, चितवनको आयोजनामा रत्ननगर नगरपालिका–७, बाघमारामा चितवन हात्ती तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । पुस ११ देखि १५ गतेसम्म बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सवबारे जानकारी दिन सोमबार बाघमारा चौरमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । महोत्सवका संयोजक रामकुमार अर्यालले महोत्सवमा हात्तीको वनभोज, हात्तीको शृङ्गार प्रतियोगिता, हात्तीको फुटबल पेनाल्टी प्रतियोगिता, म्युजिकल इलेफेन्ट वाक, हात्तीको स्वास्थ्य परीक्षण, सांस्कृतिक कार्यक्रम, गोष्ठीलगायतका कार्यक्रम हुने जानकारी दिए ।
महोत्सवको संरक्षकमा रत्ननगर नगरपालिका रहेको छ भने सहआयोजकमा युनाइटेड हात्ती सञ्चालन सहकारी र रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल, चितवन रहेका छन् ।
महोत्सवको प्रवर्धकमा संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेश, चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, नेपाल पर्यटन बोर्ड र पर्यटन कार्यालय सौराहा छन् ।
क्षेत्रीय होटल संघ नेपाल, चितवनका अध्यक्ष गंगा गिरीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा रत्ननगर नगरपालिका–७ का वडाध्यक्ष सजना महतो प्रमुख अतिथि थिए । क्षेत्रीय होटल संघका उपाध्यक्ष ओमप्रकाश पाण्डेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल, चितवनका अध्यक्ष ध्रुव गिरी, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, रत्ननगर नगरपालिका–६ का वडाध्यक्ष किरण महतोलगायतले बोलेका थिए ।