चितवन, ३० मङ्सिर ।
विद्युतीय कार जिकरको चितवनस्थित आधिकारिक डिलर युनाइटेड अटो कन्सर्नले भरतपुरमा भव्य समारोहसहित जिकर ब्रान्ड सार्वजनिक गरेको छ । जिकर चीनको गिली होल्डिङ ग्रुपको उत्पादन लक्जरी इलेक्ट्रिक गाडीको ब्रान्ड हो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले स्मार्ट प्रविधियुक्त प्रिमियम डिजाइनको जिकर एक्सको अनावरण गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले चितवनमा जिकर ब्राण्ड भित्रिएसँगै उपभोक्ताहरुलाई सुविधाजनक गाडी खरिद गर्ने अवसर उपलब्ध भएको बताए ।
उनले विद्युतीय गाडीको प्रयोगले ईन्धनमा बाहिरिने रकम जोगिएर व्यापार घाटा कम गर्न सहयोग पुग्ने बताए ।
युनाइटेड अटो कन्सर्नका प्रबन्ध निर्देशक प्रवीण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कन्सर्नका महाप्रबन्धक सञ्जीव अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । उनका अनुसार, शक्तिशाली पर्फमेन्स र अत्याधुनिक सुविधासहित इलेक्ट्रिक एसयुभि सेगमेन्टमा चर्चित प्रतिस्पर्धी ब्रान्डको रूपमा स्थापित जिकरको जिकर एक्स स्ट्यान्डर्ड र फ्ल्यागसिप भेरियन्ट पायोनियर मोटो कर्पले नाडा अटो सो २०२४ मा सार्वजनिक गरेको थियो । ‘सस्टेनेबल एक्सपेरियन्स आर्किटेक्चर (एसइए) मा निर्मित जिकर एक्सले उत्कृष्ट मिश्रणको मटेरियल प्रयोग गर्दछ, जसमध्ये ७३ प्रतिशत हाइस्ट्रेन्थस्टिलको प्रयोग भएको छ’ अधिकारीले भने, ‘यसले गाडीको तौल घटाउँदै उच्चतम संरचनात्मक सुरक्षा सुनिश्चित गर्दछ । जिकर एक्समा भोल्भो इएक्स थर्टीमा प्रयोग भएकै प्लेटफर्म प्रयोग गरिएको हुँदा आरामदायी ड्राइभिङ अनुभव र उच्चतम सुरक्षा प्राप्त हुन्छ ।’
पायोनियर मोटो कर्पका महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले नेपालमा विद्युतीय गाडीको बजार तीब्र गतिमा बिस्तार भएको बताए । उनका अनुसार जिकर एक्सको बिक्री बितेका १५ महिनामा २२ हजारभन्दा बढी भइसकेको छ । यो १५ महिनामा दस वटा देशमा २० वटाभन्दा बढी आधिकारिक शोरुम खुलिसकेका छन् । ग्राहककेन्द्रित दृष्टिकोणमा अत्याधुनिक प्रविधिको उपयोग गर्दै यातायातको दिगो भविष्य डोर्याउन जिकर प्रतिबद्ध रहेको उनले बताए ।
जिकर एक्समा सुरक्षित, आधुनिक र प्रविधियुक्त ड्राइभिङ अनुभवका लागि ‘इन्टेलिजेन्ट ककपिट’ को पनि सुविधा रहेको छ, जसमा १४.६ इन्चको एचडी टचस्क्रिन डिस्प्ले, ८.८ इन्चको एचडी इन्स्ट्रुमेन्ट प्यानलसहित २४.३ इन्चको ‘अगमेन्टेड रियालिटी हेड–हप डिस्प्ले’ समावेश रहेको छ । अगमेन्टेड रियालिटी हेड–अप डिस्प्लेमार्फत गाडीको विन्डस्क्रिनमा नै ग्राफिक्स प्रोजेक्ट हुन्छ । यसबाट सुरक्षित ड्राइभिङका लागि गाडीको गतिलगायत विभिन्न सूचना, सिस्टम वार्निङ तथा अन्य नेभिगेसन निर्देशनहरू सजिलै अगाडिको अब्जेक्ट भ्युमा नै ड्राइभरले देख्न सक्ने गरी प्रोजेक्टेड हुन्छ ।
जिकर एक्समा ६६ किलोवाट आवरको लिथियम–आयन ब्याट्री छ । पछाडिको चक्कामा २ सय किलोवाट (२७२ हर्सपावर) र ३४३ न्युटन मिटरको इलेक्ट्रिक मोटर रहेको कम्पनीले जनाएको छ ।