अलिकति पहिचानका कुरा
अनौठो छ विश्वसमुदाय । अनौठो छ नेपाली परिवेश पनि । यहाँ कहिल्यै रित्तिँदैन पहिचानको लडाइँ । जबसम्म समाजबाट हराँउदैनन् शोषण, दमन, अवहेलना र अघेल्याइँको रूप, तवसम्म कायमै रहन्छ विभेदको पर्खाल । समाजमा नयाँ नयाँ तरिकाले मौलाउँछ दलनको बिउ । खोज्नेहरू खोज्छन् पहिचानका कुरा । त्यसैले जन्मिन्छ प्रतिक्रियात्मक सोच ।
आजको नेपालमा त यस्तो अवस्था कायम छ भने पहिले पहिले के कस्तो अवस्था थियो कुन्नि ? वि.सं. २०५२–६२ को माओवादी जनयुद्ध र त्योसँगै चलेको २०६२–६३ को दोस्रो जनआन्दोलनको मूल प्राप्ति भनेकै पहिचानको मुद्दा हो । त्यसपछि हरेकको मुखबाट पहिचानको कुरा कुनै न कुनै रूपमा अभिव्यक्त भएकै छ । त्यो जाति, भाषा, धर्म, क्षेत्र, पेसा, लिङ्ग आदिका रूपमा अगाडि बढिरहेकै छ । हरेकले आफ्नो पहिचानका कुरा बोल्छन्, कतिले लेख्छन् भने कतिको कलम चल्दैन । जे जसरी भए पनि समाजमा त्यसको अस्तित्व कायम गराउन दत्तचित्त भएर लागेको अवस्था छ यतिबेला । यसको टड्कारो रूप कलाका क्षेत्रमा साहित्य र सामाजिक क्षेत्रमा राजनीतिमा देखिएको छ ।
अलिकति तामाङ विषयका कुरा
म यतिबेला बाल्यकालदेखि सुन्दै आएको तामाङ सेलो गीत झलझली सम्झिरहेछु म । मैले सबैभन्दा पहिले सुनेको तामाङ भाषाको साहित्य नै तामाङ सेलो हो । कथाकार गुरूप्रसाद मैनालीको ‘छिमेकी’ कथामा भएको धनजिते तामाङको विषयवस्तुले मलाई तामाङ लवज अलिअलि सिकाएको हो । मेरो वरपर तामाङ त्यति थिएनन् भएका तामाङहरू पनि त्यस्तो लवजमा बोल्दैनथे । हो, अलिक बुझ्ने भएपछि महाकवि देवकोटाको ‘म्हेन्दो’ खण्डकाव्य होस् कि ‘पहाडी जीवन’ निबन्धमा नै किन नहोस् तामाङ संस्कृतिको कुरा राम्ररी उठाइएको कुरा पढेर हुर्केको पाठक हुँ म ।
मलाई लाग्छ, ग्रामीण भेगमा बस्ने तामाङहरू सरल स्वभावका भएका कारण शोषणमा परेका होलान् । नेपालमा शाहवंशीय शासनकाल होस् कि अझ त्यसैभित्रको १०४ वर्षीय राणाकाल होस् राजधानी नजिकै बस्ने भएर पनि तामाङहरू अत्यधिक शोषणको मारमा परेका थिए । यो कुरा यतिबेलाका नेपाली साहित्यमा चर्को रूपमा उठाइएको पाइन्छ । यसको साक्ष्यका रूपमा कवि राबत र राजु स्याङ्तानका कवितालाई लिन सकिन्छ ।
अलिकति तामाङ स्रष्टाका कुरा
म चितवनको माटोमा हुर्केको स्रष्टा हुँ, मेरो हुर्काइ खुसीराम पाख्रिनका जनवादी गीतहरू सुनेर भएको हो । खुसीराम पाख्रिन राम्रो गायक र सङ्गीतकार मात्र थिएनन्, उनी अब्बल दर्जाका कवि पनि थिए । उनका गीतहरूले त्यसको पहिचान दिएका छन् । उनका गीत मुक्तिको मार्गमा अगाडि बढेका थिए, समस्त शोषित पीडितका स्वर बनेका थिए । उनको रचनामा तामाङको कुरा भन्दा पनि किनारीकृत नेपाली समुदायको आवाज पाइन्छ । यति भएर पनि उनी जातिगत हिसाबले तामाङ नै थिए ।
यतिबेला म तामाङ समुदायबाट आएका कविहरूको सम्झना गर्दै छु । यो सूची अनुसन्धानात्मक खालको भने होइन । म नेपाली कवितामा पारिजातलाई बिर्सन सक्तिनँ । नयाँ पुस्ताका रावतको ‘राजधानी मास्तिरको राजधानी’ र डोल्माको किरा परेको जाँडले बेस्सरी हल्लाएको सम्झन्छु । म त्यही सूचीमा लामबद्ध देख्छु कविहरू राजु स्याङ्तान, फूलमान बल र यश लामाहरू । यो सूची निकै लामो होला, म त्यति लम्ब्याउन भने चाहन्नँ, किनकि म पनि त ‘चुजी’ छु नि ?
पाठकवृन्द, यहाँ भन्नुहोला किन कवि मात्र सम्झेको ? हो, म आख्यान पनि सम्झन चाहन्छु पारिजातकै सेरोफेरोबाट । त्यही पङ्क्तिमा उभिन आइपुगेका छन् भक्त स्याङतान, भानु बोखिम र हिरा लामाहरू पनि । उनीहरू क्रियाशील छन् आख्यानमा नयाँ पन भर्न । त्यस्तै निबन्धका क्षेत्रमा भने पारिजात पछि प्रस्ट चिनिने नाम कुमारी लामा मात्र किन हो ? कि मेरो अल्प अध्ययनले अन्य लेखक फेला नपारेको हो ?
अरु अलिकति कुमारी लामाका कुरा
पाठकवृन्द, स्रष्टालाई चिन्नु र उसको साहित्य पढ्नु कत्तिको अन्तर्सम्बन्धित कुरा हो ? के लेखक नचिनी साहित्य पढिँदैन ? यी प्रश्नहरू मेरो दिमागमा खेलिरहन्छन् । म त साहित्यशास्त्र पढाउने शिक्षक पनि भएको नाताले समाजपरक समालोचनामा लेखकलाई चिन्नु जरुरी हुन्छ भनिन्छ । ऊ कस्तो जीवन बाँच्छ ? कस्तो विचार बोक्छ ? आदिले उसको लेखनलाई प्रभावित पार्छ भन्न्ने गरिन्थ्यो, समाजपरक समालोचना प्रणालीमा । अचेल यो परिपाटी लगभग ‘आउटडेटेड’ जस्तो भइसकेको छ ।
मैले कुमारी लामालाई चिनेको उनको कलमकै माध्यमबाट हो । उनको पहिलो निबन्धकृति ‘उज्यालो अन्धकार’का निबन्धहरूको जादुले लठ्ठिएको हुँ पहिलो पटक । त्यसपछि सुरु भएको हो उनीसँगको भेटको शृङ्खला । मेरो र उनको मित्रता त्यति गाढा छैन र भनिहालेँ हामी अपरिचित पनि होइनौँ । म उनलाई स्रष्टाकै रूपमा हेर्न चाहन्छु र उनका रचनाहरूको आस्वादन गर्न चाहन्छु । मेरो ठम्याइमा उनी लेखनमा निकै क्रियाशील स्रष्टा हुन् । त्यस्तै उनी अनुसन्धानमा निकै दत्तचित्तले लागिपरेकी छिन् । अनुसन्धानका अतिरिक्त उनी नेपाली निबन्धका क्षेत्रमा निकै अब्बल बनेर छाइरहेकी छिन् ।
उनका निबन्धमा निबन्धको कोलाज पाइन्छ । उनी एउटै निबन्धभित्र संस्मरण, नियात्रा, व्यक्तिचित्र, वैचारिक निबन्धजस्ता निबन्धका स्वादहरू पस्किन खप्पिस छिन् । उनका ‘उज्यालो अन्धकार’ र ‘दर्ज्यु संलाप’ जस्ता दुई निबन्धकृति त्यसका साक्ष्य हुन् । विचारको डोरीलाई कलाको रङ पोतेर सुन्दर बनाउनु उनको नैबन्धिक प्राप्ति हो । उनी अरुले भनेको जस्तो तरिकाले नभनेर नयाँ तरिकाले प्रस्तुत गर्छिन् । उनको नियात्रा पनि सरलरेखामा नबगेर वक्ररेखामा बगेको हुन्छ । उनी आख्यानमा प्रयोग हुने वृत्ताकारीय शैली निबन्धमा पनि उपयोग गर्छिन् । यसर्थ उनका निबन्ध अरुका निबन्धभन्दा पृथक् छन् ।
कुमारी लामाको फेरिएको अवतारका कुरा
पाठकवृन्द, म यहाँ कुमारी लामाको अनुहार फेरिएको सन्दर्भ उठाउँदै छु । मान्छेको अनुहार त्यति सजिलै कहाँ फेरिन्छ र ? तर पनि समय र परिस्थितिले जरुर फेर्छ मान्छेको अनुहार । यहाँले कुमारीका ‘उज्यालो अन्धकार’ र ‘दर्ज्यु संलाप’ जस्ता दुई निबन्धकृति पढ्नुभएकै होला हैन र ? भन्नुस् त यहाँले ती दुई निबन्धकृतिमा केही फरक पाउनुभयो ? कि पाउनुभएन ? पाउनुभएको भए मलाई मेसेन्जरको इनबक्समा लेख्नुहोला । यदि पाउनुभएन भने मेरो कुरा सुन्नुस् है त !
माथि नै मैले सन्दर्भ उठाइसकेँ, कुमारी लामा कलात्मक निबन्ध लेख्ने निबन्धकार हुन् । उनको निबन्धमा खोक्रो कला मात्र हुँदैन, त्यसमा समाज हुन्छ, जीवन र जगत् हुन्छ । उनको पहिलो निबन्धकृतिमा सार्वभौम जीवनका कुराहरू आएका छन् । ती विषय संसारका जुनसुकै मानवका हितमा छन्, तर उनको पछिल्लो कृति भने विशेषतः तामाङका वरिपरि घुमेका छन् । अझ त्यसमा पनि तामाङ महिलाले भोगेका यावत् दमनका कुराहरूको पहाड घुमिरहेको देखिन्छ । यसरी हेर्दा उनको ‘एक्टिभिस्ट’ चरित्रको प्रतिरूप बनेर आएको छ यो । यसरी विचार फेरिनु भनेको उनको रूप फेरिनु हैन त पाठकगण ?
अलिकति ‘दर्ज्यु संलाप’का कुरा
आजका मितिसम्म म कुनै पनि लेखकको ‘डाइहार्ट फ्यान’ होइन । हो, भेटेसम्म र समय मिलेसम्म पढ्नु मेरो सोखको विषयचाहिँ पक्का हो । यही क्रममा कुमारी लामाको ‘उज्यालो अन्धकार’ पढेको हुँ । पठनको यही सिलसिलामा उनको ‘दज्र्यु संलाप’ पनि जोडिन आइपुगेको छ । निरन्तर लेख्ने लेखकलाई पढ्न नभ्याइने रहेछ । अन्तराल बनाएर लेख्नेलाई भने पढ्न सकिँदो रहेछ भन्ने कुरा मे हकमा कुमारी लामाका निबन्धहरू पर्छन् । कूल २१० पृष्ठको आयाम बोकेको उनको ‘दज्र्यु संलाप’का सत्रवटै निबन्धहरू सर्सर्ती पढेँ । यो पठनका उपलब्धि यी हुन् :
– यी निबन्धहरूमा विचारको विविधता छ ।
– यी निबन्धहरूमा समयको स्वर मुखरित भएको छ ।
– यी निबन्धहरूमा पहिचानको स्वर तीब्र छ ।
– यी निबन्धहरूमा दलनका विविध रूपहरू आएका छन् ।
– यी निबन्धहरूमा महिलालाई केन्द्रमा राखिएको छ ।
– यी निबन्धहरूमा अतीतमोह छ ।
– यी निबन्धहरूमा नियात्राको फरक स्वाद छ ।
– यी निबन्धहरूमा काठमाडौँलाई पृथक् तरिकाले उतारिएको छ ।
– यी निबन्धहरूमा आफूभन्दा पाका लेखकप्रति सम्मानभाव छ ।
– यी निबन्धहरूमा नेपालको भूगोल, प्रकृति र संस्कृतिको चित्रण छ ।
– यी निबन्धहरूमा जीवनका अप्ठ्यारा र बिब्ल्याँटाहरू आएको छ ।
– यी निबन्धहरूमा विद्रोहात्मकता पाइन्छ ।
मैले यहाँ ‘दर्ज्यु संलाप’का केही विशेषताहरू टिप्ने कोसिस गरेँ । पाठकवृन्द, यहाँलाई पनि यस्तै लाग्नुपर्छ भन्ने मेरो कत्ति पनि जिकिर छैन । यही त पाठकीय स्वतन्त्रता हो । यस कृतिमा मैले सबैभन्दा बढी भेटेको भनेको पहिचानको स्वर हो । लेखक आफू पनि तामाङ भएको र त्यसमा पनि महिला भएको कुरालाई केन्द्रमा राखेर त्यही कुरालाई यसभित्र फरक फरक निबन्धमा फरक फरक तरिकाले उतारेको पाएँ मैले । हेरौँ केही साक्ष्य :
साक्ष्य १ :
पुरानो घरको चुहिने टायल फेर्ने सपना गुन्दा गुन्दै भुइँचालोले गल्र्यामगुर्लम पारिदिएको थियो, उनका रहरहरू । सपनाहरू टुट्छन्, फुट्छन् । तर फेरि पनि मुन्टो उठाइजान्छ हामीभित्र । सपनाले टाउको उठाएपछि कहाँ दिन्छ र कसैलाई चैनले निदाउन र नानदिदी पनि पटक्कै निदाउन सकिनन् । दमले अँचेट्दाको लामो सकसपूर्ण रात अनि सधैँको बाख्राकुखुराको साराकसुरुकको साथ ।
–भुइँकुहिरो र कान्छी तामाङको एक्लो यात्रा’, पृष्ठ २०६)
साक्ष्य २ :
मनले माया खोज्छ, शरीरले स्याहार आहार । तर उनले त पाएकी छन् माया, न त आहारविहार । प्राणसम्म धान्नलाई आफन्तले रसद दिन्छन् । नुनपानी उमाली खाँदा पनि अडिन्छ नि श्वास त तैबरु । उनले नुनपानी मात्रै उमाली खानु नपरेको न हो । त्यसको कोटा पनि घरीघरी पुर्याउनुपर्छ उनले । हात थापी खानुपर्नेलाई दिनेको मन बिग्रेको दिन ढिलोचाँडो हुँदा नुनपानीको जोहो पनि त हुनै पर्यो ।
-‘घराख्यान’, पृष्ठ ३२–३३)
माथिको पहिलो साक्ष्यमा नानदिदीको सङ्घर्ष मात्र होइन, पीडा र व्यथा पनि आएको छ । त्यसका लागि उमेर, प्रकृति र दैविक विपत्तिले पनि सताएको कुरा देखाइएको छ । त्यस्तै दोस्रो साक्ष्यमा सेती दिदीको दुःखलाई चित्रण गरिएको छ । यी दुवै तामाङ महिला हुन् । त्यति मात्र नभएर यी दुवै अविवाहित भएर पनि प्रौढ अवस्थामा पुगेका महिला हुन् । यस्ता प्रसङ्ग यो कृतिमा अन्यत्र पनि छन् । यति भएर पनि यसमा लेखक आफू पनि छिन् र छ उनको समाज । यसर्थ यो कृति बहुलतालाई स्वीकारेको कृति बनेको छ ।
अन्त्यमा प्रतिक्रियात्मक हुनु र पहिचान खोज्नुका भिन्नताका कुरा
पहिचानका बारेमा तपाई के ठान्नुहुन्छ ? म चाहिँ पहिचानलाई मानवजीवनको कारक तत्व सम्झन्छु । मेरो विचारमा आजसम्म मान्छेले गरेको समग्र प्रगति भनेको पहिचानको लडाइँ हो । ऊ आफूलाई समााजमा पृथक् रूपमा चिनाउन चाहन्छ, यही चाहनाले हो मानवजीवनमा प्रगति हुने । जब मान्छेले पहिचान खोज्न बिर्सन्छ र यथास्थितिमा रमाउँछ, तब उसले केही पनि गर्न सक्दैन । त्यसैले पहिचान खोज्नु राम्रो कुरा हो । तर यसरी पहिचान खोज्दा अरुको अस्तित्वलाई निषेध गरेर अगाडि बढियो भने त्यसले अनावश्यक द्वन्द्व निम्त्याउँछ भन्ने ठान्छु म ।
प्रतिक्रियात्मक हुनु भनेको चाहिँ कुनै पनि कुरामा आफ्नो फरक सोच राख्नु हो । यसले मानिसको दिमागलाई क्रियाशील बनाउँछ । तर हरेक कुरामा प्रतिक्रियात्मक हुँदा व्यक्तिलाई असामाजिक बनाउन सक्छ । ऊ आफूलाई अरुभन्दा फरक देखाउने चाहनामा सही कुरालाई पनि गलत प्रमाणित गर्न लागिपर्न सक्छ । यसले व्यक्ति र समाज दुबैलाई फाइदा गर्दैन भन्ने ठहर हो मेरो । कुमारी लामाका निबन्धहरू पहिचानका मुद्दामा सबल छन् । प्रतिक्रियात्मक कति छन् < त्यसको निक्र्योल गर्ने जम्मा तपाई पाठकगणलाई दिएँ है त । भबतु सब्ब मङ्गलम् ।