भरतपुर, २९ मङ्सिर ।
भरतपुर महानगरपालिका- १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलले ३० औँ वार्षिकोत्सव मनाएको छ । सो अवसरमा स्कुलले केही दिनसम्म विविध कार्यक्रम गर्दै वार्षिकोत्सव मनाएको छ ।
जसअन्तर्गत स्कुलले शुक्रबार भने एक कार्यक्रमकाबीच वार्षिकोत्सव मनाएको हो । विद्यालय प्राङ्गणमा शुक्रबार ३० औँ वार्षिकोत्सव तथा दोस्रो एमआई पिबिएल मेला सम्पन्न भएको छ । सोही दिन अभिभावक दिवस पनि सम्पन्न भएको स्कुलका सह प्राचार्य उपेन्द्र आचार्यले जानकारी दिनुभयो ।
वार्षिकोत्सवमा आयोजित दोस्रो एमआई पिबिएल मेलामा विद्यार्थीहरुले तयार पारेका बस्तुहरु प्रदर्शनीमा राखिएको थियो । स्कुलले हरेक हप्ता ‘बुक फ्री डे’ गर्दै आएको छ । मेलामा बुक फ्री डेमा विद्यार्थीहरुले तयार परेका बस्तुहरु प्रदर्शन गरिएको सह प्राचार्य आचार्यले बताउनुभयो ।
यस्तै वार्षिकोत्सवकै अवसरमा फुड फेस्टिवल पनि आयोजना गरिएको थियो । जसमा विद्यार्थीहरु आफैँले खानाका परिकारहरु तयार पारी बिक्री गरेका थिए । यसले विद्यार्थीहरुलाई व्यापार, व्यवसायसँगै जीवनउपयोगी सिप सिक्न पनि मद्दत मिल्ने स्कुलकी प्राचार्य ईन्दिरा पन्त कार्कीको भनाइ थियो ।
स्कुलले वार्षिकोत्सवको अवसरमा यसअघि अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता तथा विज्ञान प्रदर्शनी आयोजना गरेको थियो । कार्यक्रम भरतपुर महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख सुभाष आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा भरतपुर- १२ का वडाध्यक्ष लेखराज पन्त (हरि), प्याब्सन चितवनका अध्यक्ष कृतिनिधि अर्याल, मेट्रो प्याब्सनका अध्यक्ष मीनराज बस्ताकोटी, प्याब्सन केन्द्रीय सदस्य मोहन लामा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार कार्कीलगायत सहभागी हुनुहुन्थ्यो । सहभागी अतिथिहरुले मेला र फुड फेस्टिवलको अवलोकन पनि गर्नुभएको थियो । कार्यक्रम स्कुलकी प्राचार्य ईन्दिरा पन्त कार्कीको अध्यक्षता सम्पन्न भएको हो ।