हुप्सेकोट, २९ मङ्सिर ।
नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले ग्रामीण वस्तीको विकासको बाधक बनिरहेको रुख कटान विषयको जटिलतालाई हटाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नवलपरासी पूर्वको सदरमुकाम कावासोतीदेखि ग्रामीण वस्ती जोड्ने गरी बनाउन लागिएका सडकमा वन क्षेत्र पर्ने भएकाले रुख काटेर तत्काल काम अगाडि बढाउने व्यवस्था मिलाउने पनि गृहमन्त्री लेखकले दोहोऱ्याउनुभयो । शनिबार हुप्सेकोट- ३ गिरुवारीमा रहेको सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयको ५३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित स्वर्ण महोत्सवलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो ।
गृहमन्त्री लेखकले त्रिवेणी कोरला नाकाको कामको जानकारी लिँदै अवरोधको रुपमा रहेको रुख कटानको विषयलाई तत्काल समाधान गर्ने गरी लागिने पनि बताउनुभयो । यस्तै उहाँले आलोक चक्रपथ अन्तर्गत पर्ने डण्डा-झ्यालबासको जंगल तथा वसन्तपुर चोरमारा अन्तर्गत पर्ने जंगलमा बाटो विस्तारका लागि कटान गर्नुपर्ने रुखको विवरण संकलन गरी कागजात गृह मन्त्रालय ल्याउन समेत आग्रह गर्नुभएको छ । `रुख कटान बाधक बनेको रहेछ, त्यो ठूलो समस्या होइन, कागजात मिलाएर ल्याउनु, म तत्काल वन मन्त्री र अन्य मातहतमा कुरा गर्नेछु´ लेखकले भन्नुभयो ।
यस्तै स्वर्ण महोत्सवका क्रममा गृहमन्त्री लेखकले विद्यालयलाई जननीका रुपमा लिन आग्रह गर्नुभयो । जसरी एउटा आमाले सन्तानको भविष्यको बारेमा सोच्छिन्, त्यसरी नै विद्यालयले बालबालिकाको भविष्यको बारेमा चिन्ता व्यक्त गर्ने पनि बताउनुभयो ।
सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा बोल्नुहुँदै राष्ट्रिय गाउँपालिका महासंघका अध्यक्ष तथा हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले गृहमन्त्री समक्ष हुप्सेकोट गाउँपालिकाको पहिरो पीडितको समस्या, जोखिमलगायतका विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।
यस्तै नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष ओमबहादुर घर्तीले आफू सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयको पूर्व विद्यार्थी भएको नाताले यस विद्यालयमा निर्माण गर्न लागेको ईपुस्तकालय सम्बन्धीको सम्पूर्ण खर्च आफूले व्यहोर्ने गरी अत्यानुधिक सुविधा सम्पन्न ई-पुस्तकालय निर्माण गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व सांसद विष्णु लामिछाने, महेन्द्रध्वज जिसीलगायत विद्यालयको पूर्व प्रधानाध्यापक रामशरण पाण्डेय, शिक्षाप्रेमी पूर्णप्रकाश सुनारलगायतले स्वर्ण महोत्सवको पूर्ण सफलताको कामनासहित शुभकामना व्यक्त गर्नुभएको थियो ।
पूर्व प्रधानाध्यापक रामशरण पाण्डेयले आफूले लामो समय अध्यापन गरेको दिनको स्मरण गर्दै यथासक्य सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । साविकको देउराली गाविस रहँदा आफूले पनि अत्यन्त सहयोग पाएको भन्दै पाण्डेयले अहिले आफ्नै विद्यार्थीहरुले विद्यालयको नेतृत्व गरेको देख्दा खुसी लागेको बताउनुभयो ।
यसैबीच हुप्सेकोट गाउँपालिकाको सहयोगमा निर्मित विद्यालयको स्वर्ण स्तम्भको गृहमन्त्री रमेश लेखकले अनावरण गर्नुभएको छ । विद्यालयमा रहेको सरस्वती मन्दिरमा माल्यार्पणपश्चात स्वर्ण स्तम्भको अनावरण गरिएको स्वर्ण महोत्सव मूल समारोह समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर गोदारले जानकारी दिनुभयो ।
शनिबार विद्यालय र गिरुवारी बजारमा कलश यात्रा गरिएको थियो । स्थानीय झाँकीसहित मौलिक भेषभुषासहितको नृत्य, स्वर्ण स्मारिका विमोचनसहित विद्यार्थी प्रतिभा प्रदर्शनलगायतका कार्यक्रम शनिबार गरिएको थियो । स्वर्ण महोत्सवको दोस्रो दिन आइतबार पूर्व शिक्षक तथा पूर्व विद्यार्थी मिलन कार्यक्रम, शैक्षिक सामग्री प्रदर्शन , विद्यार्थीको प्रतिभा प्रदर्शन कार्यक्रम, रक्तदान कार्यक्रम र माध्यमिक तह स्तरीय जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक टंकनाथ ढकालले जानकारी दिनुभयो ।
शनिबार मारुनी नाच, करुवा नृत्य, थारु विद्यार्थीहरुको लाठी नाच, स्थानीय मगर समुदायको करुवा आदि प्रस्तुत गरिएको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक रेनुका भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ नवलपुरका नवनिर्वाचित सचिव आशिष रेग्मीले गर्नुभएको थियो ।
सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयको कम्प्यूटर ईन्जिनियरिङ ( कक्षा ९-१२ ) लाई मुख्य लक्ष्य बनाएर आयोजना गरेको स्वर्ण महोत्सव मंसिर २९ गतेदेखि पुस ३ गतेसम्म चल्नेछ ।