चितवन, २९ मंसिर ।
श्रीराम जानकी बालिका आश्रम देवघाट र गुप्तेश्वर शिवालय मन्दिर माडीको संयुक्त आयोजनामा श्रीमद्भागवत महायज्ञ हुने भएको छ ।
बाबुआमा नभएका अनाथ बालिकाहरुको पालनपोषण र शिक्षादिक्षामा जोड दिँदै आएको रामजानकी बालिका आश्रममा हालसम्म ३७ जना बालिकाहरु रहेका छन् । तिनै अनाथ बालिकाहरुको पालन पोषणको लागि माडीमा महायज्ञ गर्न लागिएको आश्रमका महासचिव रामेश्वर खनालले जानकारी दिनुभयो ।
यसअघि १०८ वटा यज्ञ पूरा गर्ने सङ्कल्प अनुरुप अहिलेसम्म देशभरी ८० औं यज्ञ सम्पन्न गरिएको खनालले बताउनुभयो । माडीको बसन्तपुरमा रहेको गुप्तेश्वरी शिवालय मन्दिरमा हुन लागेको महायज्ञ ८१ औं हो । महायज्ञबाट संकलित रकम आश्रम र मन्दिरको स्वामित्वमा रहने निर्णय गरिएको छ ।
सातदिनसम्म चल्ने महायज्ञमा रामजानकी बालिका आश्रमका नानीहरुले नै कथावाचन गर्नेछन् ।
रामजानकी बालिका आश्रमका महासचिव रामेश्वर खनालको संयोजकत्वमा भएको छलफलले माडीभर १०१ जनाको महायज्ञ मूल समारोह समिति बनाउने निर्णय गरेको छ । पत्रकार अजित अधिकारीको संयोजकत्वमा ११ सदस्यीय प्रचारप्रसार समिति रहनेछ । यसैगरी आर्थिक उपसमिति, मञ्च व्यवस्थापन, पूजापाठ व्यवस्थापन, भजनमण्डल व्यवस्थापन, भोजन तथा अतिथि सत्कारलगायतका अन्य समितिहरु समेत बनाउने निर्णय गरिएको मन्दिरका अध्यक्ष गुरुदत्त गुरागाईंले जानकारी दिनुभयो ।