गैंडाकोट, २९ मङ्सिर ।
पठन संस्कृति अभियानको ९औँ शृङ्खलामा विभिन्न पुस्तकमाथि चर्चा गरिएको छ । विजय एफएम र विजय खबरपत्रिकाको सञ्चालक संस्था विजय सूचना तथा सञ्चार सहकारी लिमिटेडले गत वैशाखदेखि महिनाको अन्तिम शनिबार नियमितरूपमा गैंडाकोटमा पठन संस्कृति अभियान कार्यक्रम गरिरहेको छ ।
९ औँ शृङ्खलाका प्रमुख अतिथि सुभाष घिमिरेले पठन संस्कृति अभियानलाई विशेषगरी विद्यालय र टोलटोलमा लैजानुपर्ने बताए । उनले भरतपुर- १६ विजयनगरमा जय नेपाल फाउन्डेसनको सहयोगमा खुला पुस्तकालय स्थापना गरिएको बताउँदै पुस्तकालय खोलेर पाठकको पहुँचमा ल्याउन सकेमा मात्रै पठन संस्कृति मौलाउने बताए । विश्वका सफल व्यक्तिहरूले नियमितरूपमा किताब पढ्ने गरेको उदाहरण दिँदै अध्ययनले सिकाइलाई बढावा दिने धारणा राखेका थिए ।
घिमिरेले नेपाली साहित्यलाई अंग्रेजीमा अनुवाद गरेर नेपाली साहित्यलाई फराकिलो बनाउन महत्त्वपूर्ण योगदान दिएका छन् । उनले २५ वर्षको अमेरिका बसाइका क्रममा आफूले अनुभूत गरेका भावना र विचारहरूलाई संग्रहित गरेर `अमेरिका अनुभूति´ पुस्तक सार्वजनिक गरेका छन् । लेखक तथा अनुवादक घिमिरेले प्रदीप नेपालको `२१औं शताब्दीकी सुम्निमा´ र सरुभक्तको `चुली´लाई अंग्रेजीमा अनुवाद गरेका छन् ।
उनले `मौन विद्रोह´लाई `द साइलेण्ट रिविलियन´पुस्तकको रुपमा अंग्रेजी अनुवाद गरेका छन् भने विपीको अदालती बयानलाइ पनि अंग्रेजीमा अनुवाद गरेका छन् । उनले अहिले विपी कोइरालामाथि अंग्रेजीमा उपन्यास लेखिरहेका छन् ।
कार्यक्रममा युनाइटेड तक्षशिलामा कक्षा ११ मा अध्ययनरत संसार सापकोटाले योगमाया पुस्तकको चर्चा गरे । पुस्तकका सन्दर्भमा रहेर सापकोटाले योगमायाको जीवनी प्रस्तुत गरे । त्यसैगरी बालकुमारी क्याम्पसकी प्राध्यापक रञ्जना लामिछानेले अमर न्यौपानेको कृति गुलाबी उमेरको चर्चा गरिन् । अर्का टिप्पणीकार उदय अधिकारीले कैलास कोइरालाको नयाँ पुस्तक शास्त्रको चर्चा गरे । कविवर गोविन्दराज विनोदीले अनुसुया महाकाव्यको चर्चा गरे । कवि विनोदीले पठन संस्कृति अभियानमा विद्यार्थीको उपस्थितिलाई बढाउन सुझाव पनि दिए । कार्यक्रममा विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्ण सापकोटा र डाक्टर धर्म सापकोटा राजुले विभिन्न अङ्ग्रेजी किताबको संक्षिप्तरूपमा चर्चा गरे ।
पठन संस्कृति अभियानको ९ औँ शृङ्खलामा धर्म सापकोटा राजुलाई सम्मान गरिएको छ । गैंडाकोट निवासी उहाँ अध्ययनका सिलसिलामा बेलायतमा बस्छन् । उनले संरक्षण विज्ञानमा विद्यावारिधि गरेका छन् । ९ औँ शृङ्खलाका प्रमुख अतिथि सुभाष घिमिरे, गैंडाकोट प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी र पठन संस्कृति अभियानका संयोजक त्रिलोचन सापकोटाले विजय विकास स्रोत केन्द्रका सदस्य सापकोटालाई सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा बोल्दै सापकोटाले यो सम्मानले आफूमा जिम्मेवारी थपिएको र समाजका लागि अझै केही गर्न आवश्यक रहेको बताए ।
गैंडाकोटमा पठन संस्कृति अभियान सुरु भएपछि यस क्षेत्रमा पठन संस्कार मौलाएको बताए । पठन संस्कार बढाउन नियमितरूपमा कार्यक्रम गरेर पढ्न रुचि राख्नेहरूलाई किताबको पहुँचमा ल्याउनु पर्ने बताए । विद्यालयका किताबले मात्रै मानिसको जीवनयापन नहुने उनले बताए । `विद्यालयका किताबले मानिसको जीवन मात्रै धानिने हो । जीवन जीउन, सुन्दर जीवन जीउन अतिरिक्त किताब पढ्नुपर्छ । जति धेरै पढ्न सकियो जीवन उति धेरै सहज बनाउन मद्दत गर्दछ´, सापकोटाले भने । उनले यो अभियानलाई १० हजार रुपैयाँका किताब सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।