भरतपुर, २९ मङ्सिर ।
संस्थागत विद्यालय संगठन (आईएसओ) चितवनको आयोजनामा पश्चिम चितवनको शारदानगर खेल मैदानमा एथलेटिक्स रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख सुभाषचन्द्र आचार्यले शुक्रबार प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथि आचार्यले विद्यार्थीको चौतर्फी विकासको लागि सिकाइ माध्यम खेलकुद भएको बताउनुभयो । यस्ता कार्यक्रमले खेलको माध्यमबाट विद्यार्थीहरूमा सामूहिक रुपमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने सन्देश दिने सकिने उहाँले बताउनुभयो ।
शुभकामना मन्तव्यको क्रममा भरतपुर महानगर प्याब्सन अध्यक्ष मीनराज बस्ताकोटीले अनुशासन नै महत्वपूर्ण गहना भएको बताउँदै खेलकुद क्षेत्रमा संलग्न विद्यार्थीले आफ्नो अनुशासन तथा सामूहिक रूपमा कसरी स्थापित हुन सकिन्छ भन्ने किसिमका ज्ञान आर्जन गर्न सक्ने बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा भरतपुर महानगरपालिका वडा नम्बर- १९ का जनप्रतिनिधि वडा सदस्य सीता विक, चितवन जिल्ला प्याब्सन अध्यक्ष कृतिनिधि अर्याल, भरतपुर महानगरपालिका प्याब्सन अध्यक्ष मिनराज बस्ताकोटी रहनुभएको थियो । त्यसैगरी अतिथिहरूमा विभिन्न विद्यालयका प्रधानाध्यापकहरू तोपमानसिंह गुरुङ, गुञ्जमान विक, भुवन सापकोटा, ठाकुरप्रसाद भट्ट, अशोक गुरुङ, रामचन्द्र खत्री, खेल प्रशिक्षक कान्ति महतो, रमेश घिमिरे, रामचन्द्र खत्री, विश्वराज अर्याल, प्रकाश अर्याल, युवराज अर्याल, इन्दिरा भुसाललगायत रहनुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य आईएसओ रनिङ सिल्ड प्रतियोगिताका कार्यक्रम संयोजक प्रशान्त गिरीले राख्नु भएकोथियो ।
कार्यक्रमको सहजीकरण आईएसओ चितवनका सचिव नरेश ढकालले गर्नुभएको थियो । कार्यक्रम शुक्रबार र शनिबार गरी २ दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १३ वटा खेलहरू समावेश गरिएको छ । शुक्रबार भएको मार्च पास र टक अफ वारमा जनप्रिय पब्लिक स्कुल प्रथम भएको छ । बाँकी कार्यक्रमसहित शनिबार खेलकुद प्रतियोगिताको समापन गरिने आईएसओ चितवनका अध्यक्ष वेदनिधि अर्यालले जानकारी दिनुभयो ।