भरतपुर, २६ मङ्सिर ।
रक्त क्यान्सर भएर भारतको नयाँदिल्लीमा उपचाररत चितवन, माडीका भुपराज पाठकको उपचारका लागि युवा व्यवसायी जोन कँडेलले रु. २४६४६/- सहयोग उपलब्ध गराउनुभएको छ । माडीको दिवाकर स्मृति माध्यमिक विद्यालयका शिक्षक एवं हाँस्य कलाकार तथा लोकदोहोरी गायक भूपराज पाठकमा रक्त क्यान्सर रोग देखिएपछि दुई सातादेखि उपचाररत हुनुहुन्छ ।
माडी नगरपालिका-४, सिम्रहनी निवासी कलाकार एवं शिक्षक पाठकलाई काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार गराइएको थियो । त्यसपछि थप उपचारका लागि नयाँदिल्लीस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्यान्सर अस्पतालमा लगिएको छ । उहाँको उपचारका लागि ५० लाख रुपैयाँभन्दा बढी खर्च हुने भएपछि पाठक परिवार र शुभचिन्तकले आर्थिक सङ्कलन गरिरहेका छन् । अहिलेसम्म १५ लाख रुपैयाँ सङ्कलन भएको पाठक परिवारले जानकारी गराएका छन् ।
यसैक्रममा भरतपुर- ४ निवासी युवा व्यवसायी तथा समाजसेवी जोन कँडेलले पाठकको उपचारका लागि सहयोग गर्नुभएको हो । भरतपुर- ४ लङ्कू, धारापानीमा द ग्रिन पार्क रेस्टुरेन्ट सञ्चालन गरेर बस्नुभएका कँडेलले आफ्नो रेस्टुरेन्टबाट वर्षभरीमा बिक्री हुने चुरोट, पानी, अल्कोहललगायतबाट प्राप्त हुने मुनाफाको केही अंश सामाजिक एवम् परोपकारी काममा प्रयोग गर्दै आइरहनु भएको छ । चुरोटको मुनाफा क्यान्सर पीडितको उपचारका लागि उहाँले उपलब्ध गराउँदै आउनु भएको छ । उहाँले यो सहयोग प्रत्येक वर्ष माघ १८ गते आफ्नो जन्मदिनको अवसर पारेर उपलब्ध गराउँदै आउनुभएको थियो । यसैक्रममा उहाँले भुपराजको उपचार भैरहेको खबर सुनेपछि समय अगावै सहयोग गर्नुभएको छ । २०८० माघ १८ गतेदेखि २०८१ मङ्सिर २५ गतेसम्म आफ्नो रेस्टुरेन्टबाट बिक्री भएको १२३२३ खिल्ली चुरोटबापतको रु २४६४६ मुनाफा भुपराज पाठक अभियानलाई उपलब्ध गराउनुभएको हो ।
बुधबार द ग्रिन पार्क रेस्टुरेन्टमा ब्लड डोनर सोसाइटीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष हरिप्रसाद न्यौपाने, बागमती प्रदेश युवा परिषद् चितवन जिल्ला संयोजक रामचन्द्र लम्साल, समाजसेवी कृष्णप्रसाद न्यौपाने, प्रविन देवकोटा र अर्जुन अर्यालको रोहवरमा कँडेलले चेकमार्फत उक्त सहयोग रकम उपलब्ध गराउनुभएको हो ।`उहाँले मानवताको लागि गरेको यो सहयोगको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ´, केन्द्रीय वरिष्ठ उपाध्यक्ष न्यौपानेले भन्नुभयो । वि. सं. २०६८ सालदेखि द ग्रिन पार्क रेस्टुरेन्ट सञ्चालन गरिरहनुभएका कँडेलले अनाथ बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाहरूलाई नियमितरूपमा सहयोग गर्दै आइरहनु भएको छ ।