चितवन, २६ मङ्सिर ।
वातावरण सरसफाइमा युवाहरुलाई चेतना अभिबृद्धि गर्नका लागि फोहोर सङ्कलन दौड आयोजना गरिने भएको छ । भरतपुर महानगरपालिका, मेट्स इन्टरनेशनल र नेपाल टेलिकमको सहकार्यमा मैनादेवी फाउन्डेसनले यही मङ्सिर २९ गते भरतपुरको व्यस्त सडकमा सो कार्यक्रमको आयोजना गर्न लागेकोे हो ।
कार्यक्रमका व्यवस्थापक अर्जुन अधिकारीले वातावरण सरसफाइमा युवाको भूमिका बारे बुझाउन चितवनमा पहिलोपटक दौडको आयोजना गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार यस दौडमा दुई जनाको समूह निर्माण गरी एक घण्टामा ५ किलोमिटर दूरी पार गरी सडकमा भएका फोहोर टिप्नुपर्ने हुन्छ । उहाँले भन्नुभयो – `जुन समूहले फोहोर धेरै टिप्छ त्यसलाई पुरस्कार समेत व्यवस्था गरेका छौँ ।´ भरतपुर महानगरपालिकाको सहकार्यमा आयोजना गर्न लागिएको फोहोर टिप्ने दौड कार्यक्रममा चितवनसहित देशका ३ हजार भन्दा बढीको सहभागिता रहने छ । युवा माझ `फोहोर नगरौँ´ भन्ने सन्देश दिन र वातावरण जोगाउँदै खेलसँग जोड्नका लागि दौडको आयोजना गरिएको उहाँले बताउनुभयो ।
मैनादेवी फाउन्डेसनका अध्यक्ष केपी खनालले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश रु ५० हजार, २५ हजार र १५ हजार प्राप्त गर्ने बताउनु भएको छ । यसअघि दुईपटकसम्म काठमाडौँमा आयोजना गरिएको यस कार्यक्रम अहिले चितवनमा गर्न लागिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – `युवाहरुलाई सामाजिक काममा प्रेरणा दिनका लागि यो कार्यक्रमको आयोजना गर्न लागिएको हो ।´ सरसफाइमा युवाहरुको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो । यो कार्यक्रम मंसिर २९ गते भरतपुर महानगरपालिका- १० स्थित अरोमा कलेजको मैदानबाट सुरु हुनेछ भने बिहान ७ बजे सबै प्रतियोगी उक्त स्थानमा पुगिसक्नु पर्नेछ । प्रतियोगितामा भाग लिनका निम्ति गुगल फर्म मैनादेवी फाउन्डेसनको पेजबाट भर्न सकिने छ भने इच्छुकहरुले ९८४७५५०८०६, ९८५५०१५३६२ मा समेत सम्पर्क गर्न सक्नुहुनेछ ।