भरतपुर, २५ मङ्सिर ।
वाल्मीकि शिक्षा सदन भरतपुरले २८औं वाषिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आइतबारदेखि खेलकुद सप्ताह कार्यक्रम गरिरहेको छ । सोही अवसरमा युवा रेडक्रस सर्कल वाल्मीकि शिक्षा सदनको आयोजनामा मङ्गलबार खुल्ला रक्तदान कार्यक्रम गरिएको छ ।
`रक्तदान जीवनदान´ भन्ने महान् उक्तिलाई सार्थकता दिनको लागि यो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्राचार्य प्रदीप पौडेलले बताउनु भयो । विशेषगरी कक्षा ११ र १२ का विद्यार्थीहरू एवम् अभिभावक, शिक्षक तथा कर्मचारीको उपस्थिति रहेको कार्यक्रममा १०४ जनाले रक्तदान गरेको प्राचार्य पौडेलले जानकारी दिनु भयो ।
युरेस वाल्मीकिका सभापति सागर छत्कुलीको अध्यक्षतामा भएको कार्यक्रमलाई सचिव आयुष्मा सापकोटाको सञ्चालन गर्नुभएको थियो । भरतपुर मेट्रो प्याब्सनका अध्यक्ष मीनराज बस्ताकोटीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा प्लसटू संयोजक विष्णुप्रसाद ढकाल, शिक्षक नायक सुवास रेग्मीलगायत शिक्षक कर्मचारी, युरेसका विद्यार्थीको उल्लेखनीय उपस्थिति रहेको थियो । भरतपुर ब्लड बैंकको सहयोगमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको विद्यालयका सहायक प्राचार्य प्रकाश सुवेदीले जानकारी दिनुभयो ।
सोही कार्यक्रममा रक्तदाता र अतिथिलाई मायाको चिनोस्वरुप किताब उपलब्ध गराइएको छ । शैक्षिक संस्थाले दिने मायाको चिनोमा सबैभन्दा प्रभावकारी किताब हुने ठहर गर्दै सबैलाई किताब दिइएको सहायक प्राचार्य सुवेदीले बताउनु भयो । `पठन संस्कृतिलाई पनि बढावा दिने र शैक्षिक संस्थाले दिने उपहारका रूपमा किताब नै उत्तम विकल्प भएकोले सबैलाई किताब दिने प्रचलन सुरु गरेका हौँ´, सहायक प्राचार्य सुवेदीले भन्नुभयो ।
वाल्मीकि शिक्षा सदनले आइतबारदेखि खेलकुद, रक्तदान, साहित्यिक र विभिन्न किसिमका बौद्धिक कार्यक्रम गर्दै वार्षिकोत्सव मनाइरहेको छ । खेलकुद सप्ताह अन्तर्गतका यी कार्यक्रमहरू शुक्रबारसम्म जारी रहने प्राचार्य पौडेलले बताउनु भयो ।