माडी, २२ मङ्सिर ।
माडीको दिवाकर स्मृति माध्यमिक विद्यालयका शिक्षक एवं चर्चित हाँस्य कलाकार तथा लोकदोहोरी गायक भूपराज पाठकलाई रक्त क्यान्सर रोग देखिएको छ ।
माडी नगरपालिका-४, सिम्रहनी निवासी कलाकार एवं शिक्षक पाठकको हाल काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार सुरु भएको छ । दुई साताअघि लगातार ज्वरो आएसँगै स्वास्थ्य परीक्षण गराउनुभएका पाठकमा रक्त क्यान्सर पुष्टी भएको हो ।
नेत्रहीन युवा संघ चितवनका अध्यक्ष, नेपाल पत्रकार महासंघ चितवन जिल्ला कार्यसमिति सदस्य, नगर अपाङ्ग उत्थान समाज माडीका उपाध्यक्ष एवं सामुदायिक रेडियो माडीका सञ्चारकर्मी समेत रहनुभएका पाठक दक्षिण एसियामै पहिलोपटक ब्रेल लिपीमा समाचार पढ्ने पत्रकारका रुपमा समेत परिचित हुनुहुन्छ ।
यसअघि उहाँकी आमालाई पनि क्यान्सर देखिएको थियो । आमाको उपचार भारतको नयाँ दिल्लीमा भएर फलोअप मै हुनुहुन्छ । आमाको उपचार पूर्णरुपमा नसकिँदै कलाकार एवं शिक्षक पाठकमा समेत क्यान्सर रोग देखिएपछि पाठक परिवारमा अर्को बज्रपात परेको हो । पाठकको उपचारमा कम्तीमा ५० लाख रुपैयाँ खर्च लाग्ने अस्पतालले जनाएको छ ।
माडी र चितवनसँगै राष्ट्रकै गहनाका रुपमा रहनुभएका कलाकार पाठकमा ब्लड क्यान्सरजस्तो असाध्य र महङ्गो उपचार खर्च लाग्ने रोग देखिएसँगै उहाँको उपचारमा सहयोग गरिदिन उहाँका सहोदर दाजु विपिन पाठक र उहाँको परिवारले सबैमा अनुरोध गरेको छ ।
सम्पूर्ण किताब नारायणगढले उहाँको उपचारका लागि आर्थिक सङ्कलन अभियान थालेको छ । सम्पूर्ण किताबको फेसबुकमा सूचना राख्दै भनेको छ –
`एकै जनाले धेरै सहयोग गर्न नसकिएला । तर धेरैले थोरै थोरै सहयोग गरियो भने पनि धेरै सङ्कलन हुनसक्छ । आउनुहोस् यो अभियानमा सहकार्य गरौं । जसले जति सकिन्छ सहयोग गरौँ ।´