हामी,
पीडा र सम्भावनाबीच अडिएको एउटा पुस्ता
चर्किएको माटोमा हुर्किएका
तर सपना हावा जस्तै उड्ने
आशाहरू फाटेको फाँटमा
बोटको साटो जङ्गल हुर्काउने
तृष्णाहरूले डाहा गर्ने
हाम्रो आँट ।
हामीलाई सिकाइएको थियो—
शान्त रहू
झुक
गुमनाम बन
तर हाम्रा गोडाहरू पर्खाल चढ्न चाहन्थे
हाम्रो स्वासले बन्द कोठाहरू चिर्न चाहन्थ्यो
यो
शान्तिको खोल ओढेर
न्यायलाई बाँधिएको एउटा युग थियो
जहाँ भोक भन्दा पनि ठूलो
थियो-
डर ।
तर हामीभित्र
एक-एक गरी आगो सल्किन थाल्यो
जुन आगोले भत्काउन थाल्यो
पुराना बन्धन
ठान्थे-
हामीलाई थिच्न सकिन्छ
तर उनीहरूले बुझेनन्-
हाम्रो धैर्य,
हाम्रो मौनता,
यो त आँधी अघिको शून्यता थियो ।
अब,
हाम्रो खुट्टाले बनाएका छापहरू
इतिहासका पानाहरू हुनेछन्
हाम्रो स्वरले
नयाँ क्रान्तिको थालनी गर्नेछ
हाम्रो मस्तिष्कले
पसिनाको गन्धमा
तर भविष्यको उज्यालोमा
अर्को कथा लेख्नेछ ।
यो समय,
पुराना मान्यताहरूको अन्त्य हो
जहाँ हामीलाई सिकाइएको थियो-
घुँडा टेक्न ।
तर अब,
हाम्रो हातले माटो समाउँछ
माटोले आकाश समाउँछ
हाम्रो आँखाले हेर्ने छ—
एक नयाँ सूर्योदय ।
किनकि,
हामी केवल वर्तमान होइनौँ
हामी त्यो गहिराइ हौँ
जहाँ सम्भावना टुसाउँछ
हामी त्यो उचाइ हौँ
जहाँ सपनाले रङ्गीन पखेटा लगाउँछ
जसले उक्लन चाहन्छ
सूर्यभन्दा पर ।।