भरतपुर, २० मङ्सिर ।
सहकारीको रकम अपचलनको आरोप लागेर अनुसन्धानका क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बुधबार राति पोखरा लगिएको छ ।
चितवनमा बुधबार बयान सकिएपछि उनलाई रातारात सडकमार्ग हुँदै पोखरा लगिएको हो ।
गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई चितवनबाट मध्यराति ३:३० बजे पोखरा पुर्याइएको प्रहरी स्रोतले जनाएको छ ।
बिहान लैजाँदा समर्थकको भीडभाड हुनसक्ने भएपछि पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई रातारात सडकमार्ग हुँदै पोखरा लगिएको बताइएको छ ।
यसैबीच लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।
वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको हो ।
यो सहकारीका पूर्वसञ्चालक तथा संरक्षक जीबी राई हुन् । त्यहाँबाट गोर्खा मिडिया नेटवर्कमा पैसा भित्राएर अपचलन गरेको आरोपमा लामिछाने, राई र पूर्वडीआई छविलाल जोशी बञ्जाडेसहितका व्यक्तिविरुद्ध जाहेरी परेको थियो ।
काठमाडौंबाट गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कास्की, रुपन्देही, काठमाडौं र चितवन लगिसकिएको छ । बुधबार चितवनमा उनले त्यहाँको साहारा सहकारीको रकम अपचलनसम्बन्धी बयान दिएका थिए ।
उनले यसअघि नै पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबारे बयान दिइसकेका छन् ।
रातारात पोखरा पुर्याइएका लामिछानेलाई अब फेरि पर्सा लगिने छ । उनलाई पुन: म्याद थप गरेपछि पर्सा लैजाने प्रहरीको तयारी छ ।