चितवन, १९ मङ्सिर ।
रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले चितवनमा पत्रकार कुटेको घटनाको पत्रकार सम्बद्ध संघ संगठनहरुले विरोध जनाएका छन् । रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धिकरणलगायतका आरोपमा भईरहेको अनुसन्धानको विरोधका उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले समाचार संकलन गर्न पुगेका नेपाल पत्रकार महासंघका सदस्य तथा कपुरबोट मिडियाका पत्रकार सन्तोष देउजामाथि बुधबार कुटपिट गरेका छन् ।
घटनाको नेपाल पत्रकार महासंघ चितवनलगायत पत्रकार सम्बद्ध संघसंस्थाहरुले भत्सर्ना गरेका छन् । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस युनियनका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारीका उपाध्यक्ष कृष्ण आचार्य, प्रेस सेन्टरका सचिव रवि अधिकारी, समाजवादी प्रेस संगठनका अध्यक्ष टिकादत्त तिमिल्सिना र जनपत्रकार संगठनका अध्यक्ष होमनाथ न्यौपानेले बुधबार संयुक्त विज्ञप्ति प्रकाशित गरी विरोध गरेका छन् ।
विज्ञप्तिमा रास्वपाका कार्यकर्ताहरुले समाचार संकलन गरिरहेका पत्रकार देउजामाथि प्रर्दशनकारीले मुक्का प्रहार गर्दै लखेटेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ “आक्रमणबाट जोगिन पत्रकार देउजा अस्पताल रोडको एक घरमा शरण लिन बाध्य पारिएको घटना निन्दनीय छ । पत्रकार देउजाको अवस्था बुझ्न जानुभएका नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष प्रकाशमणि ज्ञवाली, प्रेस चौतारी नेपाल चितवनकी इन्चार्ज एवं नेपाल प्रेसकी चितवन संवाददाता प्रतिमा सिलवाललगायतका पत्रकारहरुमाथि पनि अमानवीय तथा अभद्र ब्यवहार भएको छ ।” घटना लोकतान्त्रिक समाजका लागि अमर्यादित र निन्दनीय कार्य भएको उल्लेख गर्दै विज्ञप्तिमा यस्तो कार्य नगर्न नगराउन चेतावनी दिईएको छ ।
जारी संयुक्त विज्ञप्तिमा पत्रकार देउजालगायतका पत्रकारहरुमाथि आक्रमण गर्ने आक्रमणकारीहरुको पहिचान गरी कडा कानुनी कारवाही माग गरिएको छ । “आक्रमणकारीलाई तत्काल पक्राउ गरी कारवाही नगरिए नेपाल पत्रकार महासंघ चितवनलगायत पत्रकार सम्बद्ध संघसंस्थाहरु जस्तोसुकै कदम चाल्न वाध्य हुने चेतावनी दिन चाहन्छौँ ।” विज्ञप्तिमा भनिएको छ “सम्बद्ध पार्टीलाई घटनामा संलग्न व्यक्तिको पहिचान गरी कारवाहीका लागि सहयोग गर्न यसै विज्ञप्ति मार्फत् अनुरोध गर्दछौं ।”
रास्वपा कार्यकर्ता र प्रहरीबिच झडप
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबिच झडप भएको छ । रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उक्त पार्टीका कार्यकर्ता र प्रहरीबिच झडप भएको हो । झडपमा परेर आठ प्रहरी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार प्रदर्शनकारीले सरकारी वकिलको कार्यालय जाने बाटो अवरुद्ध गर्न खोज्दा झडप भएको हो । प्रदर्शनकारीले ढुंगा प्रहार गर्न थालेपछि उक्त कार्य रोक्नका लागि अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको उनले बताए । घाइते प्रहरीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । ‘प्रहरीले बल प्रयोग गरेको छैन । प्रदर्शनकारीले ढुंगा हान्दा प्रहरी घाइते भएका हुन्,’ प्रहरी उपरीक्षक मिश्रले भने । जिल्ला प्रहरी कार्यालयअगाडि सभापति लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनकारीले निषेधित क्षेत्र नाघेपछि सो कार्य रोक्न खोज्दा झडप भएको उनले जानकारी दिए ।
प्रदर्शनकारीतर्फ १६ जना घाइते भएको रास्वपा चितवनका सभापति कृष्ण भुसालले जानकारी दिए । घाइतेको भरतपुर सामुदायिक अस्पताल, नारायणी सामुदायिक अस्पताल, देव अस्पताललगायतका अस्पतालमा उपचार भइरहेको उनले बताए ।
रास्वपा सभापति लामिछानेको बयान सरकारी वकिलको कार्यालयमा जारी छ । यहाँको साहारा सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेपछि प्रहरीले उनलाई बयानका लागि मंगलबार काठमाडौंबाट चितवन ल्याएको हो । साहारा सहकारीबाट १० करोड ८० लाख गोर्खा मिडियामा गएको आरोप लागेपछि उनलाई बयानका लागि चितवन ल्याइएको हो ।