मकवानपुर, १९ मङ्सिर
मकवानपुरका छुट्टाछुट्टै २ स्थानबाट प्रहरीले लागुऔषध गाँजासहित ४ जनालाई पक्राउ गरेको छ । राक्सिराङ गाउँपालिकाबाट मंगलबार २ जनालाई र हेटौंडा–१५, रातोमाटेबाट बुधबार २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका–५, ढुङगुखोलाको बगरबाट २ जनालाई १७ किलो ६ सय ग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको जनाएको छ । प्रहरी टोलीले उक्त स्थानमा शंकास्पद रुपमा हिँडिरहेका पर्सा जिल्लाको पर्सागढी नगरपालिका–८ का ४६ वर्षीय देवीलाल सहनी र पर्सागढी नगरपालिका–१ का ३२ वर्षीय रामनारायण रामलाई उक्त परिमाणकाे लागुऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सहनी र रामलाई हिरासतमै राखेर अनुसन्धान तथा कारवाही गर्न मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद प्राप्त भएको प्रहरीले जनाएको छ ।
यस्तै बुधबार दिउँसो हेटौंडा–१५ स्थित प्रहरी चौकी रातोमाटेबाट प्रहरीले १ सय ७५ किलो लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गमा हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा प्र ०३ ००१ च १५८४ नम्बरको पिकअप गाडीलाई रोकी सुरक्षाजाँच गर्दा प्रहरीले लागुऔषध गाँजा बरामद गरेको हो । प्रहरीले लागुऔषधसहित गाडी चालक बकैया गाउँपालिका–४ का २४ वर्षीय सुमन लामा र बकैया–११ का २४ वर्षीय सुशील भोलनलाई नियन्त्रणमा लिएको छ । प्रहरीले लामा र भोलनलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।