चितवन, १९ मङ्सिर ।
लैगिंक हिंसाविरुद्ध १६ दिने अभियानको अवसरमा चितवनमा बुधबार नागरिकता अधिकार सम्बन्धी सचेतनामुलक `कचहरी´ नाटक प्रदर्शन गरिएको छ । महिला काननु र विकास मञ्च (FWLD)ले रत्ननगर नगरपालिकाको सौराहाचोक, भरतपुर महानगरपालिकाको सहिदचोक र नारायणी नदि किनारमा गरी ३ स्थानमा नाटक प्रस्तुत गरेको हो ।
कार्यक्रममा रत्ननगर नगरपालिका वडा नम्बर- १ का अध्यक्ष कुलप्रसाद पौडेल, भरतपुर महानगरपालिका वडा नम्बर- १ का अध्यक्ष केशव महर्जन, रत्ननगर नगरपालिका महिला विकास अधिकृत दीपा घिमिरे, स्थानीय प्रहरी लगायतको सहभागिता रहेको थियो । उनीहरुले स्थानीय पालिका तथा वडामा आई प्रस्तुत गरिएको सडक नाटकले कानुनी सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भुमिका खेलेको बताए । नाटकका माध्यमबाट संविधानले प्रदत गरेको नागरिकता सम्बन्धी ऐन र नियमनमा हालै गरिएका संसोधनहरुका बारमो सचेतनामुलक रुपमा प्रस्तुत गरिएकोमा आयोजक संस्थाको यस कामको प्रशंसासमेत गरेको थिए ।
नाटकमा विशेषगरी आमाको नामबाट पनि नागरिकता प्राप्त गर्न पाउने प्रावधान, मातृ वंशबाट नागरिकता प्राप्त गर्ने कानुनी प्रकृया, नागरिक र लैंगिक विभेद बीचको सम्बन्ध र नागरिकता नहुनेले भोग्नुपरेका चुनौती लगायतका विषय समावेश गरिएको थियो ।
नाटक हेर्ने कतिपय दर्शकले नाटक आफ्नो व्यक्तिगत जीवनसँग मेल खाएको प्रतिक्रिया दिए । उनीहरुले आज पनि नागरिकताको सवालमा व्यवहारिक रुपमा अनेकौँ कठिनाई र अवरोध झेल्नुपरेको समस्या साझा गरेका थिए । यस नाटकमार्फत आफूहरुलाई नागरिता ऐनको बारेमा स्पष्ट हुन थप मद्धत मिलेको उनीहरुको धारणा थियो ।
२०८० साल जेठ १६ गते नेपालमा नागरिकता सम्बन्धी ऐनमा महत्वपूर्ण संशोधन गरिएको थियो । यस कामले नेपालको नागरिकता प्रणालीलाई थप समावेशी र सुलभ बनाउन मद्धत पुगेको थियो । यसले नेपालको नागरिकता सम्बन्धी ऐनलाई अझ प्रभावकारी र समावेशी बनाउनका महत्वपूर्ण भूमिका खेलेको FWLD का कार्यक्रम व्यवस्थापक अधिवक्ता विनु लामाले बताइन् । संस्थाले पूर्वी नेपालका ७ जिल्लाका २१ स्थानमा कचहरी नाटक प्रस्तुत गरेको उनको भनाई छ ।
यस ऐनमा विशेषगरी आमाको नामबाट पनि नागरिकता प्राप्त गर्न सकिने (महिलालाई आफ्ना बच्चालाई नागरिकता दिने अधिकार दिइएको) र महिला र लैंगिक समानता सुनिश्चित गर्ने विषयमा जोड दिइएको छ ।