चितवन, १९ मङ्सिर ।
भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले आजको जमाना सूचना प्रविधिको भएकाले समावेशी विद्युतीय पुस्तकालय आजको आवश्यकता भएको बताएका छन् ।
भरतपुर महानगरपालिका–४ मा नेपाल जर्नी नेपालद्वारा निर्माण भइरहेको अपाङ्गतामैत्री विद्युतीय पुस्तकालयको विषयमा आयोजित अन्तरक्रियामा प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्दै उपमेयर अधिकारीले विद्युतीय पुस्तकालयको आवश्यकतामाथि जोड दिएका हुन् ।
अन्तरक्रियाको आयोजना भरतपुर महानगरपालिकाको समन्वय र उद्योग वाणिज्य संघ चितवनको समन्वयमा नेपाल जर्नी नेपालले आयोजना गरेको हो । अन्तरक्रियामा बोल्दै उपमेयर अधिकारीले भने, ‘चेतना अभिवृद्धिका लागि सबैलाई सहज पहुँच पुग्ने गरी अन्तर्राष्ट्रिय स्तरको पुस्तकालय बनिरहेको छ । यसका लागि नेपाल जर्नीलाई धन्यवाद छ ।’
वर्तमान विश्वमा सूचना प्रविधिको निकै महत्व रहेको बताउँदै उपमेयर अधिकारीले भने, ‘अहिलेको विश्व आइटी (सूचना प्रविधि) मा अडेको छ । आइटीको जमाना छ । समावेशी विद्युतीय पुस्तकालय आजको आवश्यकता हो । पुस्तकालय निर्माण कार्य समयमै र गुणस्तरीयरुपमा सम्पन्न होस् ।’
कार्यक्रमका विशिष्ट अतिथि एवं नेपाल जर्नी अमेरिकाका उपाध्यक्ष बद्री श्रेष्ठले सन् २०१५ मा अमेरिकामा स्थापना भएको नेपाल जर्नी अमेरिकाले नेपालमा १४ वटा परियोजना सम्पन्न गरिसकेको जानकारी दिँदै भरतपुरमा निर्माण भइरहेको विद्युतीय पुस्तकालयको काम पूरा गर्ने चुनौती थपिएको बताए । पुस्तकालयलाई सम्पन्न गर्नका लागि दाताहरुको सहयोग आवश्यक रहेको बताउँदै उनले स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरुलाई पुस्तकालय निर्माणको महान कार्यमा जोडिन अनुरोध गरे ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले पुस्तकालय बनेपछि भरतपुर महानगरलाई नै हस्तान्तरण गरिने भएकोले निर्माण कार्य छिटै सम्पन्न गर्न भरतपुर महानगरपालिकाले पहल गर्नुपर्ने बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरको पुस्तकालय बन्ने भएकोले यो भरतपुरका लागि एउटा महत्वपूर्ण उपलब्धि हुनेछ ।’
पुस्तकालय भवन निर्माणको ठेक्का पाएको ब्युल्डकन डिजाइन एण्ड डेभलपर्स प्रा.लि.का प्रबन्ध निर्देशक इन्जिनियर रोचक अधिकारीले भूकम्प प्रतिरोधी दुईतले भवनको निर्माण कार्य ६५ प्रतिशत सकिएको जानकारी गराए । उनले गत वर्ष मंसिर १२ गते ठेक्का सम्झौता भई काम सुरु गरिएको र आगामी वर्ष जेठसम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।
नेपाल जर्नी नेपालका अध्यक्ष कमलप्रसाद आचार्यले भरतपुर–४ मा निर्माण भइरहेको पुस्तकालय बनिसकेपछि यो एसियाकै नमुना हुने दाबी गरे । उनले पुस्तकालयको आन्तरिक सजावटमा १ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए । आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले सहजीकरण गरेका थिए ।