बारा, १९ मङ्सिर ।
कनेक्ट किसानको आयोजनमा बाराको बरियारपुरमा ‘कृषि एक्स्पो गढीमाई- २०८१’ शुरु भएको छ । ५ वर्षको अन्तरालामा लाग्ने गढीमाई मेलामा सहभागी हुन आउने भक्तजन र उर्भर भूमि तराईमा खेती गर्दै आएका किसानहरुलाई प्रविधि र बजारसँग जोड्ने उद्देश्यले किसान, व्यवसायी, कृषि विज्ञ, सरकारी निकाय र कृषिसँग सरोकार राख्ने अभियान्ताहरुको जमघट गराउन कृषि एक्स्पो आयोजना गरिएको आयोजकले जनाएको छ ।
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेको कार्यक्रममा वन तथा वातावरण मन्त्रालयकी राज्यमन्त्री रुपा विश्वकर्मा, महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादव, फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अंसारीलगायतको उपस्थिति रहेको थियो ।
मंसिर २४ गतेसम्म चल्ने एक्स्पोमा २ लाख बढीले अवलोकन गर्नुका साथै ५ करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य रहेको मेला संयोजक सञ्चिता लामिछानेले बताईन् । उक्त एक्स्पोमा १ सय ५० भन्दा बढी स्टलहरु रहने छन् । अवलोकनकर्ताहरुले कृषिमा भित्रिएको नवीनतम प्रविधिदेखि मल, बीउ, परामर्श सबै एकै ठाउँबाट प्राप्त गर्न सक्नेछन् । एक्स्पोको प्रमुख आकर्षणमा कृषि सेमिनार रहेको छ, जहाँ किसानहरुले विज्ञहरुसँग नि:शुल्क परामर्श लिन पाउने लामिछानेले बताईन् । उक्त एक्स्पोमा कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसी पालन, डेरीलगायत कृषिका नवीनतम औजार, उपकरण, केराखेती, थोपा सिँचाई, विषादीरहित कृषि, इत्यादिका बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।
यसैगरी उक्त एक्स्पोमा देशभरीबाट बढी भन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघसंस्थाका प्रतिनिधिलगायत आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको जानकारी प्राप्त गर्ने छन् । एक्स्पोमा किसानका समस्यालाई समाधान गर्ने उद्देश्यले कृषिका विभिन्न विषयमा स्वदेशी विज्ञहरुद्वारा सेमिनार आयोजना हुने तथा देशभरिबाट आएका कृषकहरुलाई कृषि प्रविधि, कृषिका विभिन्न विधाहरुको बारेमा जानकारी गराउने कार्यक्रम समेत रहेको छ । नि:शुल्क प्रवेशको व्यवस्था गरिएको उक्त एक्स्पोमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने सानासाना औजार, मेशिनदेखि लिएर डेरी मेशिनरी, पशुपंक्षीपालन, फलफूल खेती र कृषि जन्यउद्योगमा प्रयोग हुने उपकरणहरुको प्रदर्शनी गरिने छ । एक्स्पोबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने र कृषि उपजहरुको बजारीकरणमा राम्रो भूमिका खेल्ने विश्वास गरिएको आयोजकले जनाएको छ ।