चितवन, १९ मङ्सिर ।
सैनिक आवासीय महाविद्यालय खैरहनी, चितवनले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत बृहत् प्रभातफेरी कार्यक्रम गरेको छ । महाविद्यालय परिसरबाट सुरू भएको प्रभातफेरी खैरहनी–३ र ८ हुँदै वडा नम्बर ३ को कार्यालयमा पुगेर कोणसभामा परिणत गरी समापन भएको थियो ।
कार्यक्रममा महाविद्यालयका प्रिन्सिपल, प्रमुख व्यवस्थापक, भाइस प्रिन्सिपल, होस्टल सुपरिटेन्डेन्ट, इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख, खैरहनी नगरपालिका वडा नम्बर – ३ का जनप्रतिनिधि, विद्यार्थी, शिक्षक कर्मचारी तथा सैनिक सकल दर्जाहरुले लैङ्गिक हिंसाविरुद्धको सचेतनामूलक प्लेकार्ड प्रदर्शनसहित सहभागिता जनाएका थिए ।
कार्यक्रममा नेपाली विषय इन्चार्ज जिटी नानीमैया ढकालले लैङ्गिक हिंसाले समाजमा पारेको असर र यसको न्यूनीकरणमा खेल्नुपर्ने भूमिकाको विषयमा प्रकाश पारेकी थिइन् ।
खैरहनी–३ का कार्यवाहक वडाध्यक्ष माधव श्रेष्ठ र वडासचिव तीर्थराज खनालले लैङ्गिक हिंसाविरुद्धको अभियानमा महाविद्यालयले कार्यक्रम आयोजना गरेकोमा प्रशंसा व्यक्त गर्दैै स्थानीय बालमैत्री शासन र लैङ्गिक हिंसामुक्त समाज निर्माणमा सम्बद्ध सबै पक्षले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको समापन गर्दै महाविद्यालयका प्रिन्सिपल बाबुराम बन्जाडेले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत महाविद्यालयले यसअघि चित्रकला प्रतियोगिता आयोजना गरेको र यसैको निरन्तरता स्वरुप समुदायस्तरमा जनचेतना जगाउने उदेश्यले प्रभातफेरी कार्यक्रम आयोजना गरिएको र लैङ्गिक हिंसामुक्त समाजको निर्माणका लागि सम्पूर्ण सरोकारवाला निकायहरूबीच समन्वयको आवश्यकता रहेको बताए ।
महाविद्यालयको तर्फबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ऐक्यबद्धतास्वरुप संयुक्तरूपमा हस्ताक्षर गरिएको व्यानर वडा नम्बर – ३ को कार्यालयलाई हस्तान्तरण गरिएको थियो । कोणसभाको सञ्चालन होस्टल सुपरिटेन्डेन्ट जिसटिए सुरजचन्द्र गौतमले गरेका थिए ।