भरतपुर, १७ मङ्सिर ।
नारायणगढको क्याम्पाचौरमा बौद्धिक अपाङ्गता भएकाहरूबीच फुटबल खेलाइएको छ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आर नेपालको पहलमा बौद्धिक अपाङ्गता भएकाहरुलाई फुटबल खेलाइएको डिस्ट्रीक्ट गभर्नर पिएमजेएफ लायन दिनानाथ न्यौपानेले बताए ।
फुटबल प्रतियोगितामा नारायणगढ, भरतपुर, टाँडी, माडी, बछौली, धनौजी र पटिहानी गरी ७ वटा टिम सहभागी थिए । प्रतियोगितालाई मैत्रीपूर्ण बनाउँदै सबैलाई विजेता बनाइएको लायन्स क्लब अफ नारायणगढ दियालोका अध्यक्ष असिमबाबु हमालले बताए ।
सोही कार्यक्रममा लायन्स क्लब अफ दियालो नारायणगढले राष्ट्रिय सुस्त: मनस्थिति कल्याण संस्था नारायणगढलाई साउन्ड सिस्टम उपलब्ध गराएको छ । प्रतियोगितामा खेल्नको लागि प्रयोग भएका फुटबलहरू दिलमाया पुस्तक भण्डार नारायणगढले सौजन्य गरेको थियो । राष्ट्रिय सुस्त: मनस्थिति कल्याण संस्था नारायणगढका अध्यक्ष रोशन मास्केले बौद्धिक अपाङ्गताहरुलाई खेलाएर प्रशंसनीय काम गरेको बताए । उपाध्यक्ष नेत्र आचार्यले बौद्धिक अपाङ्गता भएकालाई खेलकुद लगायतका यस्ताखाले गतिविधिमा सहभागी गराउँदा उनीहरूमा बौद्धिक विकास हुने बताए ।