काठमाडौं, १६ मङ्सिर ।
यस वर्षको ‘विजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार’ कलाकार नीर शाहलाई प्रदान गरिने भएको छ । भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त पुरस्कार शाहलाई प्रदान गरिने जानकारी दिएको हो ।
प्रतिष्ठान अध्यक्ष केशवलाल श्रेष्ठले १ लाख राशीको पुरस्कार गीतकार नीर शाहलाई प्रदान गरिने निर्णय भएको जानकारी दिए । मूलतः चलचित्र निर्माण, निर्देशन एवम् अभिनयमा समर्पित शाह २०३२ सालदेखि निरन्तर नेपाली गीत लेखनमा समेत पुर्याउनुभएको योगदानको कदर गर्दै पुरस्कृत गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । नेपाली गीत लेखनको क्षेत्रमा विगत पाँच दशकदेखि निरन्तर कलम चलाउदै आएका कलाकार शाहका पर्खी बसें आउला भनी.., बादल बनाइदेऊ.., गहिराइमा डुब्दै नडुब .. लगायतका गीत चर्चामा छन् ।
आगामी माघ १५ गते हेटौँडामा एक विशेष समारोहकाबीच नीर शाहलाई पुरस्कार समर्पण गरिने बताइएको छ । व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको सम्मानमा २०६४ सालमा पुरस्कारकाे स्थापना गरेका हुन् । २०६४ सालमा अम्बर गुरुङलाई ‘विजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार’ प्रदान गरिएकाे थियाे ।
त्यसपछि अम्बर गुरुङ- २०६४ प्रेमध्वज प्रधान- २०६५ भक्तराज आचार्य – २०६६, फत्तेमान राजभण्डारी- २०६७, शान्ति ठटाल- २०६८, दीप श्रेष्ठ- २०६९, प्रकाश श्रेष्ठ- २०७०, न्हुच्छेबहादुर डङ्गोल- २०७१, मीरा राणा- २०७२, कर्म योञ्जन- २०७३, चेतन कार्की- २०७४, दावा ग्याल्मो- २०७७, दीपक जङ्गम- २०७८, किरण प्रधान २०७९, राजेन्द्र थापा- २०८० पुरस्कृत भएका छन् । स्थापना हुँदा ५० हजार रुपैयाँ रहेकाे उक्त पुरस्कारकाे राशी २०६७ सालबाट बृद्धि गरी १ लाख रुपैयाँ पुऱ्याइएको छ ।