रत्ननगर, १५ मङ्सिर ।
रत्ननगरमा समसामयिक गजलवाचन कार्यक्रम गरिएको छ । गजल मञ्च चितवनसँगको सहकार्यमा रत्ननगर वाङ्मय प्रतिष्ठानले शनिबार समसामयिक गजलवाचन कार्यक्रम आयोजना गरेको हो । रत्ननगर नगरपालिकाको सभाहलमा गरिएको कार्यक्रममा थुप्रै स्रस्टाले समसामयिक विषयमा लेखिएका गजल वाचन गरेका थिए । पूर्वीचितवनमा पहिलोपटक एउटै कार्यक्रममा धेरै स्रस्टाले गजल सुनाएको कार्यक्रम संयोजक एवम् मञ्चका उपाध्यक्ष कमल अर्यालले जानकारी दिए ।
कार्यक्रमको सुरुवातमा कवि, गजलकार राजेन्द्र घायलले गजल सुनाए । चितवनका धेरैजसो कार्यक्रममा घायलले नियमितरूपमा रचनावाचन गर्दछन् । त्यसैगरी गिरिराज डल्लाकोटी, रामशरण थपलिया, विदुर अधिकारी र सूर्यमणि रेग्मीले पनि गजल सुनाए ।
कार्यक्रमलाई मञ्चकी सचिव प्रमिला सानुले सञ्चालन गरेकी थिइन् । सचिव सानुले स्रस्टालाई पालैपालो मञ्चमा बोलाएर गजल सुनाउने मेसो मिलाएकी थिइन् । लगत्तै जीवन सुवेदी आएर गजल गुनगुनाउन थाले :
जस्मा माटोलाई मोती बनाउने क्षमता देखिन्छ
उस्को आँखामा सपनाहरुको धैर्यता देखिन्छ
यदी फूलहरुले नै फूल फुलाउन छोडे भने
भन्नुस् त भमराहरुको हुल कता देखिन्छ ।।
गजलकार जीवन सुवेदीले गजलका यी शेरसँगै माहोललाई थप गुञ्जायमान गराए । त्यसपछि जयन्ती अधिकारी, रुबिन पौडेल, विष्णु पौडेल, चिरञ्जीवी दाहाल, समिता पौडेल न्यौपाने, अनिता अर्याल, तीर्थराज खनाल, रुद्रराज कँडेल, करुणा उदासी कृष्णा, रामलाल कुमाल, देवीमाया सापकोटा, गोकर्ण मल्ल, सरस्वती पौडेल, सरगम पारु, विद्या भण्डारी चिराग, हरिप्रिया रिजाल, लीला दाहाल अधिकारी, सिम्रन क्षेत्री, हीरामणि शर्मा पौडेल, सरु न्यौपाने, गीता लामिछाने र कमल अर्यालले पनि गजल सुनाए ।
कार्यक्रममा गजल मञ्च चितवनका पूर्वअध्यक्षहरू किसान प्रेमी, गोर्खे साइलो, पुष्प अधिकारी अञ्जली, रमेश प्रभात र लेखराम सापकोटा साथै सल्लाहकार एवम् गजलविज्ञ केशवराज आमोदीले पनि शुभकामना मन्तव्यसहित गजल प्रस्तुत गरेका थिए । कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले शुभकामना मन्तव्य राख्दै आगामी पुस २७ गते चितवनमा गजल उत्सव गरिने जानकारी दिए । उक्त कार्यक्रमलाई सफल बनाउन गजल मञ्चसहित जिल्लाका सबै साहित्यिक संघसंगठनको सहयोग आवश्यक रहेको क्षेत्रीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि कालीगण्डकी साहित्य समाजका अध्यक्ष गणेश शर्मा पौडेलले गजल मञ्च चितवनका तर्फबाट पूर्वीचितवनमा वृहत् गजल वाचनको कार्यक्रम राखिनु महत्त्वपूर्ण पक्ष रहेको बताए । आजको गजल वाचन कार्यक्रमले चितवनमा पुरानै गजल माहोल दोहिरिएको महसुस भएको पौडेलले बताए । मञ्चका अध्यक्ष रामकृष्ण अनायासले जिल्लामा गजलका गतिविधिलाई प्राथमिकता दिइने बताए । पूर्वीचितवनको कार्यक्रममा स्रस्टाको उपस्थिति राम्रो भएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष अनायासले आगामी कार्यक्रम माडीमा गरिने योजना रहेको सुनाए । कार्यक्रमका सभापति एवम् रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरेले गजल विधा प्रति स्रोताहरुको अनुराग लोभलाग्दो रहेको बताए ।