काठमाडौं, १५ मङ्सिर ।
विराटनगर किंग्सलाई ८ विकेटले हराउँदै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनपिएलमा विजयी सुरुवात गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर किंग्सले १९ ओभरमा अलआउट हुँदै एक सय २८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा ब्याटिङ गरेको जनकपुरले १५.३ ओभरमा २ विकेट गुमाउँदै जित निकालेको हो ।
जनकपुरको जितमा अमेरिकी खेलाडी लाहिरू मिलान्थाले अर्धशतक बनाए । ३० वर्षीया बायाँ हाते ब्याटर तथा विकेट किपरले ५३ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ७५ रन बनाए । श्रीलंकाको कोलम्बोमा जन्मिएर अमेरिकाको लागि खेलिरहेका लाहिरूले ३९ बलमा ६ चौका र २ छक्कासहित अर्धशतक बनाएका थिए । उनी प्रतियोगितामा अर्धशतक बनाउने दोस्रो खेलाडी हुन् ।
तेस्रो नम्बर क्रिजमा आएका उनले ११.१ ओभरमा अर्धशतक बनाउँदा जनकपुरले २ विकेट गुमाउँदै ८८ रन जोडेको थियो । २७ वर्षीय क्यानेडियन खेलाडी हर्ष थाकरले ३३ बलमा दुई चौकासहित २९ रन बनाएका हुन् । दुई खेलाडीबिच शतकीय साझेदारी भएको थियो । ओपनरद्वय मार्की आसिफ सेख र कप्तान अनिलकुमार शाह १.६ ओभरमा १५ रन बनाउँदा आउट भएपछि लाहिरू र थाकरको जोडीले जितको आधार तयार गरेका थिए ।
यसअघि न्युजिल्यान्डका ३९ वर्षीय अनुभवी ब्याटर मार्टिनले अर्धशतक बनाएपछि विराटनगरले टस हारेर पहिला ब्याटिङ गर्दै सबै विकेट गुमाएर मात्र एक सय २७ रन बनायो । गप्टिलले ४३ बलमा सात चौका र १ छक्कासहित सर्वाधिक ५५ रन बनाए । गप्टिलले ३६ बलमा ७ चौका र एक छक्कासहित अर्धशतक बनाउने पहिलो खेलाडी बनेका थिए । उनी हर्ष थाकरको बलमा कप्तान अनिलकुमार शाहबाट क्याचआउट हुन पुगेका थिए ।
ओपनर गप्टिलले अर्धशतक बनाउँदा विराटनगर १२.१ ओभरमा ८३–३ को अवस्थामा थियो । यसबाहेक अकिब इल्यासले १८ बलमा १५ रन बनाए । दुई खेलाडीबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ओपनर लोकश बमले ५, निकोलस किर्टनले ९, बसिर अहमदले ७, राजेश पुलामीमगरले १, प्रतीश जिसीले २ तथा कप्तान सन्दीप लामिछानेले ७ रन, क्रिस सोल ४ रन बनाएर आउट भएका थिए ।
टस जितेर बलिङ गरेको जनकपुरको लागि ललितनारायण राजवंशीले तीन विकेट लिए । उनले ४ ओभरमा २८ रन खर्चिएका थिए । उनी नै एनपिएलमा पहिलो विकेट लिने खेलाडी बनेका छन् । ललितले दोस्रो ओभरको पहिलो बलमा विराटनगरका लोकेश बमलाई बोल्ड गरेका थिए । त्यस्तै, किशोर महतो र हर्ष थाकरले समान दुई विकेट हात पारे । बेन माइक र मोहमद मोहसिनले समान एक विकेट लिएका थिए ।
यसअघि प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भने पनि अन्तिममा नाम फिर्ता लिएको क्यान स्रोतले बतायो । त्यसपछि खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका हुन् । उद्घाटन सत्रमा राष्ट्रिय खेलकुद परिषद् राखेप सदस्यसचिव टंकलाल घिसिङसहित क्यानका पदाधिकारीको उपस्थिति रहेको थियो ।
उद्घाटन सत्रअघि कर्णाली याक्समा अनुबन्ध भएका भारतीय चर्चित खेलाडी शिखर धवनले मैदान परिक्रमा गर्दै नेपाली समर्थकको अभिवादन स्वीकार गरेका थिए ।
८ टिमबिच हुने एनपिएलको समापन ६ पुसमा हुनेछ । नेपाल क्रिकेट संघ क्यानले विजेतालाई १ करोड ११ लाख र उपविजेताले ५५ लाख पाउने जनाएको छ । त्यस्तै, तेस्रोले ३० लाख र चौथोले २० लाख पाउनेछन् ।
अब, कीर्तिपुरमा आइतबार निर्वाचन हुने हुँदा कुनै खेल छैन । सोमबार पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइजो तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्ने तालिका छ ।