चितवन, १५ मङ्सिर ।
जिल्लाका विभिन्न ठाउँमा अचेत अवस्थामा फेला परेका ३ जनाको मृत्यु भएको छ । अचेत अबस्थामा भेटिएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
जिल्लाको भरतपुर महानगरपालिका–१, रामनगरको दुई नम्बर टोलमा अचेत अवस्थामा फेला परेका ४२ वर्षीय कृष्ण नेपालीको मृत्यु भएको छ ।
शनिबार बिहान नेपाली आफ्नै कोठामा सुतिरहेको स्थानमा अचेत अवस्थामा फेला परेका थिए । नेपालीलाई उपचारका लागि भरतपुर अस्पतालमा लगिएकोमा उपचारको क्रममा बिहानै डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै चितवनको रत्ननगर नगरपालिका–१६, हात्तीगारेमा अचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीय बेधबहादुर खड्का रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार राति १० बजेको समयमा खड्का आफ्नै घरदेखि १०० मिटर पर हात्तीगारे बाटोमा लडिरहेको अवस्थामा फेला परेका थिए । खड्कालाई उपचारका लागि स्थानीय बकुलहर हस्पिटल लैजाने क्रममा शुक्रबार बिहान बाटोमा नै मृत्यु भएको हस्पिटलले घोषणा गरेको थियो । अनुसन्धानको क्रममा खड्काले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी भरतपुर महानगरपालिका–१५, चौतारीटोलमा बाथरुममा लडेर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ८५ वर्षीय चामनारायण दराई रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार बिहानको समयमा दराई बाथरुममा नुहाउने क्रममा लडी घाईते भएका थिए । घाइते दराइलाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।