देवचुली, १५ मङ्सिर ।
देवचुली नगरपालिका – १० मा जारी प्रथम देवचुली गोल्डकप फुटबल प्रतियोगितामा अभिषेक चर्च रजहर सेमिफाइनलमा प्रवेश गरेको छ । शान्तिदीप युवा क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा अभिषेक चर्च रजहर र देशभक्त फुटबल क्लबबिच शुक्रबार भएको क्वाटर फाइनल खेलमा अभिषेक चर्च रजहर विजयी भएको हो ।
अभिषेक चर्च रजहरले देशभक्त फुटबल क्लबलाई ३-२ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा अभिषेक चर्च रजहरका गणेश हमाल, सुजित बुढाथोकी र अभिषेक महतोले १/१ गोल गरेका थिए भने देशभक्त फुटबल क्लबका मनिष पुन र अरुण चौधरीले १/१ गोल गरेका थिए। शुक्रबारको खेलमा देशभक्त फुटबल क्लबका अरुण चौधरी म्यान अफ दि म्याच भएका थिए । प्रतियोगितामा शनिबार शान्तिदीप युवा क्लबका विरुद्ध सेन्टर कलेज अठाइस बिगाहाका बिच क्वाटर फाइनल खेल हुने आयोजकले जनाएको छ ।
नवलपुर, चितवन र नवलपरासी पश्चिमका १४ टिमको सहभागितामा जारी प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ७५ हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले १ लाख ५० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सेमिफाइनल पुग्ने २ टिमले २५ हजार रुपैयाँँ नगद समेत प्राप्त गर्नेछन् । त्यसैगरी उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा अनुशासित टिमलाई नगद ५ हजार रुपैयाँँ पुरस्कारको व्यवस्था रहेको शान्तिदीप युवा क्लबका अध्यक्ष अमरबहादुर घर्ती मगरले बताउनुभयो ।
देवचुली नगरपालिका संरक्षक रहेको प्रतियोगितामा देवचुली १० वडा कार्यालय, वडा युवा तथा खेलकुद विकास समिति देवचुली १०, देवचुली नगर युवा तथा खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति नवलपुर, जिल्ला फुटबल संघ नवलपुरको सहकार्य र समन्वय रहेको छ । प्रतियोगिताको प्रायोजक सद्भाव इन्टरनेशनल एजुकेसन रहेको छ ।