भरतपुर १५, मङ्सिर ।
अर्किड मावि भरतपुरद्वारा आयोजित अर्किड गायन स्टार -२०८१ को उपाधि सोभित शाहले जितेका छन् ।यससँगै अनिष्का थापा, सुदृष्टि अधिकारी, एलिना डि महतो क्रमशः फर्स्ट रनरअप, सेकेन्ड रनर अप र थर्ड रनरअप भएका छन् ।
कार्यक्रममा सेरेल न्यौपानेले सान्त्वना स्थान प्राप्त गरेको छिन् ।
गीत र संगीतमा कलिला प्रतिभालाई स्थान दिने उद्देश्यले अर्किड माविद्वारा आयोजित यसपटकको कार्यक्रम पाँचौँ शृङ्खला रहेको शिक्षिका प्रतीक्षा श्रेष्ठले बताउनु भयो । श्रेष्ठका अनुसार छनौट चरण, प्रतियोगी चरण, सांस्कृतिक गायन चरण र अन्तिम प्रतिस्पर्धासहित यो प्रतियोगिता चार चरणमा भएको थियो ।
विश्वमणि पहारी र प्रतीक्षा श्रेष्ठ निर्णायक रहनु भएको अन्तिम प्रतिस्पर्धाको सञ्चालन गायक जिबि सुनारले गर्नु भएको थियो ।
अन्तिम प्रतिस्पर्धालाई थप रोचक बनाउन कक्षागत रूपमा सांस्कृतिक परिकार प्रदर्शनी (फुड फेस्टिवल) आयोजना गरिएको थियो । जातिगत पहिचान झल्काउने परिकार प्रदर्शनी प्रतियोगिताले मौलिकपनको जगेर्नासहित पाककलाको अभ्यास पनि गराउने अपेक्षा विद्यालयले राखेको शिक्षक हरिराम रेग्मीले बताउनु भयो ।
कुल १६ वटा स्टल रहेको फुड फेस्टिवलमा जातिय पहिचान झल्कने परिकार बनाइएका थिए । स्थानीय र अभिभावकको समेत उपस्थिति रहेको कार्यक्रममा विद्यार्थीहरूको बाक्लो उपस्थिति थियो ।