भरतपुर, १२ मङ्सिर ।
अस्पतालको बेड, नाजुक अवस्थामा लम्पसार एक महिला । रोगले गलाएको शरीर । आँखामा आँसु सुकेको छ । अनुहारको तेज उडेको छ । रोगसँगै श्रीमानले दिएको पीडाबाट प्रताडित छिन् । चितवनका प्रहरी प्रमुख गौतम मिश्रसहित जिल्लास्थित सरोकारवालाहरु उनको अवस्थाबारे बुझ्दै थिए ।
खैरहनी नगरपालिका वडा नम्बर १० घर भएकी अमृता माझी नाम बताउने उनले आफूलाई रोग लागेपछि श्रीमानले दैनिक रक्सी खाने र कुटपीट गर्ने गरेकाले पीडा माथि पीडा थपिएको बताइन् । `धेरै कुटाईपिटाई खाएँ । आर्थिक अवस्था नाजुक थियो उपचारको लागि पैसा थिएन । मलाई करिब डेढ वर्ष अघिदेखि रोग लागेको हो । पहिले गाउँकै मानिसले चन्दा उठाएर केही सहयोग गर्नुभएको थियो । फेरी थलिएँ । पैसाकै अभावमा समयमा औषधीउपचार पनि पाइनँ´, उनले सुनाइन् – `गाउँकै एक जना दिदी (वडासदस्य गेयान्सी पासवान)ले थाहा पाएर यहाँ अस्पतालसम्म ल्याउन सघाउनुभएको हो । डाक्टरले फोक्सोमा पानी जमेको भनेका छन्, उपचारमा कति समय लाग्ने हो केही थाहा छैन ।´
उनलाई करिब डेढ वर्ष अघिदेखि रोग लागेको र बीचमा चन्दा उठाएर उपचारमा सघाएको वडासदस्य पासवानले जानकारी दिइन् । हालैमात्र पनि उनका श्रीमानले बिरामी श्रीमतीलाई कुटपिट गरी कान्छी श्रीमती लिएर हिँडेपछि आफू र गीता माझीले खैरहनी नगरपालिकाको सहयोगमा एम्बुलेन्सको व्यवस्था गरी अस्पतालसम्म ल्याएका उनको भनाई थियो ।
अमृताको सानै उमेरमा गाउँकै मगरा माझीसँग बिहे भएको हो । अहिले ७ वर्षकी छोरी छिन् । आफू रोगी भएर अस्पतालमा बस्दा श्रीमानले अर्की लिएर हिँडेको थाहा पाएकी उनलाई थप पीडा थपिएको छ । उनको पीडामा मलम लगाउन बुधबार जिल्लास्थित सरोकार राख्ने संघसंस्था अस्पतालमा पुगेका छन् । उनको नाजुक अवस्थाबारे थाहा पाएपछि अधिकारकर्मी मीना खरेलले यसै क्षेत्रमा काम गर्ने संघसस्थासँग समन्वय गरी उनलाई सहयोग गर्ने वातावरण बनेको हो । लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान चलिरहँदा विशेषगरी घरेलु हिंसा, लैंगिक हिंसा, मानववेचविखन विरुद्धको अभियानयानलाई नेतृत्व लिएर काम गरिरहेका महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील संघसंस्थाहरु एक भई यो दिवसलाई प्रभावकारी बनाउनुपर्ने खरेलको भनाई छ ।
जिल्लामा क्रियाशील करिब १ दर्जन संघसस्था मिलेर बुधबार भरतपुर अस्पतालमा उपचाररत हिंसाप्रभावित महिला अमृतालाई नगद र खाद्यान्न सहयोग गरे । चितवनका प्रहरी प्रमुख गौतम मिश्रको उपस्थितिमा जिल्लामा क्रियाशील संघसस्थाहरु विशेषगरी आदर्श नारी विकास केन्द्र, आदर्श गृह नेपाल, मन्जुश्री असहाय संरक्षण केन्द्र, आफन्त नेपाल, चेली नेपाल, इनरह्वील क्लब अफ भरतपुर सिटि, चितवन मानव सेवा आश्रम, पुतलीबजार महिला समूह, अधिवक्ता फूलमाया रानाभाट, लैंगिक हिंसा निवारण कोषका कोषाध्यक्ष रितु गिरिसहितले संस्थागत र व्यक्तिगत रुपमा सहयोग गरेका हुन् ।
अभियानमा जोडिरहँदा हिंसाकै कारण उपचार नपाएर कोही पनि महिलाले ज्यान गुमाउन नपरोस् भनेर सहयोग गरिएको अधिकारकर्मी मन्जु खाँडले बताइन् । उनको उपचार नि:शुल्क गर्न भरतपुर अस्पताल प्रतिवद्ध रहेको अस्पतालका प्रवक्ता गोपाल पौडेलले बताए । चितवनका प्रहरी प्रमुख गौतम मिश्रले सामाजिक संघसंस्थाले आफ्नो खर्च कटाएर हिंसापीडित बिरामीको उपचारमा गरेको सहयोगको प्रंसशा गर्दै संघसस्थाले पीडितको घाउमा मलमपट्टी लगाउन खेलेको भूमिका सराहनीय रहेको बताए ।
कार्यक्रममा भरतपुर महानगरपालिका, भरतपुर अस्पताल र एकद्धार संकट व्यवस्थापन प्रणाली (ओसीएमसी)को पनि समन्वय रहेको थियो ।