देवचुली, ११ मङ्सिर ।
देवचुली नगरपालिका- १० मा सञ्चालित प्रथम देवचुली गोल्ड कप फुटबल प्रतियोगितामा मंगलबार सेन्ट्रल कलेज अठ्ठाईस बिगाहा विजयी भएको छ । शान्तिदीप युवा क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा साथीभाइ फुटबल क्लबका विरुद्ध सेन्ट्रल कलेज २८ बिगाहा बिच मंगलबार भएको खेलमा सेन्ट्रल कलेज अठाईस बिगाहा विजयी भएको हो ।
सेन्ट्रल कलेज अठ्ठाईस बिगाहाले साथीभाइ फुटबल क्लबलाई ३-१ गोल अन्तरले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा सेन्ट्रल कलेज अठाईस बिगाहाका युमी, सिर्जन क्षेत्री र आकाश थापा मगरले १/१ गोल गरेका थिए भने साथीभाई फुटबल क्लबका सुरेश कुमालले गोल गरेका थिए । मंगलबारको खेलमा सेन्ट्रल कलेज अठाईस बिगाहाका सिर्जन क्षेत्री म्यान अफ दि म्याच भएका थिए ।
प्रतियोगितामा बुधबार देवचुली दलित युवा समाजका विरुद्ध गैंडाकोट फुटबल क्लब बिच खेल हुने आयोजकले जनाएको छ ।
नवलपुर , चितवन र नवलपरासी पश्चिमका १४ टिमको सहभागिता सञ्चालन हुन लागेको प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ७५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले १ लाख ५० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको सेमिफाइनल पुग्ने २ टिमले २५ हजार रुपैयाँँ नगद समेत प्राप्त गर्नेछन् । त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा अनुशासित टिमलाई नगद ५ हजार रुपैयाँँ पुरस्कारको व्यवस्था रहेको शान्तिदिप युवा क्लबका अध्यक्ष अमरबहादुर घर्ती मगरले बताउनुभयो ।
देवचुली नगरपालिका संरक्षक रहेको प्रतियोगितामा देवचुली १० वडा कार्यालय, वडा युवा तथा खेलकुद विकास समिति देवचुली १०, देवचुली नगर युवा तथा खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति नवलपुर, जिल्ला फुटबल संघ नवलपुरको सहकार्य र समन्वय रहेको छ । प्रतियोगिताको प्रायोजक सदभाव इन्टरनेशनल एजुकेसन रहेको छ ।