आरम्भमा फिनिक्स चराको प्रसङ्ग
अध्ययनको सुरुआती दिनमा मैले अङ्ग्रेजी साहित्य पढ्दा कुन्नि कता हो पहिलोचोटि ‘फिनिक्स चरा’को बारेमा पढेको थिएँ । हाम्रो पूर्वमा त्यस्तो मिथक कतै नसुनेको र नपढेको हुनाले त्यतिबेला त्यो कुरा राम्ररी बुझेको थिइनँ । अभि सुवेदी सरको ‘विश्वविद्यालयमा अग्निपूजा’ शीर्षकको लेख पढेपछि भने त्यो सन्दर्भ मज्जाले बुझेजस्तो लागेको हो । म यो प्रसङ्ग किन उठाउँदै छु भने गोपी सापकोटा सन् २००८ तिर लण्डन भासिएसँगै उनको साहित्य पनि पातालको गर्तमा भासिएको थियो । नेपालीमा एउटा उखान छ, ‘बाह्र वर्षका खोलो पनि पुरानै बाटोमा फर्कन्छ ।’ यो उखान गोपीजीमा पनि लागू भयो । लण्डनमा हराएको ठिक बाह्र वर्षमा उनी ‘काँचो कागज’ (२०७७) लिएर नेपाली साहित्यमा देखा परे । यसलाई मैले उनको खरानीबाट पुनः बौरिएको मानेको हुँ । त्यसपछि त उनी हरेक दुई वर्षको अन्तरालमा ‘चिसो बाफ’ (२०७९) र ‘लन्डन अनप्लग्ड’ (२०८१) मार्फत् लगातार देखापरिरहेका छन् । उनको यो यात्रा रोकिनुहुन्न भन्ने हामी पाठकहरूको तीब्र चाहना छ ।
गोपी सापकोटासँगको सुरुआती दिन
गैँडाकोट क्षेत्रमा सडक नाटक गरेर चर्चा कमाएका प्रतिभा हुन् गोपी सापकोटा । तर मैले त्यतिबेला गोपीको एउटा पनि नाटक हेर्ने अवसर पाइनँ । आफू पाठक भएका नाताले कविता र नाटकमा भने मैले उनलाई राम्ररी पढेको हुँ । नेपालमा कार्यरत रहँदा उनी कविता र नाटकका अलावा बालसाहित्यका क्षेत्रमा पनि काम गरिरहेका थिए । आजीविकाका लागि एउटा गैरसरकारी संस्थामा आबद्ध थिए । अरुहरूलाई जस्तै विदेशमोहले च्यापेपछि उनी पनि पाताल भासिए । त्यसपछि मेरो उनीसँगको सम्पर्क र उनको लेखनीसँगको नाता सुषुप्त अवस्थामा पुगेको थियो ।
नेपाली साहित्यमा राम्रो पकड बनाइसकेका गोपी सापकोटा एकाएक लन्डन गएर धेरै समय हराएपछि विधा परिवर्तनसहित उपन्यासकारका रूपमा फेरि नेपाली साहित्यकाशमा झुल्किए । यतिबेला मेरो हातमा उनै गोपी सापकोटाको पछिल्लो कृति सिर्जनात्मक गैरआख्यान ‘लन्डन अनप्लग्ड’ छ । कलम प्रकाशन, काठमाडौँले प्रकाशन गरेको यो कृतिमा बीसवटा संस्मरणात्मक खालका निबन्धहरू समेटिएका छन् । गैरआख्यान भनिए पनि पूरापुर कथाको छनक दिने यी रचनाहरू आख्यानात्मक निबन्ध हुन् । यी रचनामा गोपीले करिब दुई दशक बेलायतमा बिताएका विभिन्न पलहरूको स्मरण छ, त्यति मात्र होइन बिच बिचमा नेपालका नोस्टाल्जिक प्रसङ्गहरू पनि छन् । तिनमा उनको बागलुङमा बितेको बाल्यकाल प्रमुख छ भने गैँडाकोटमा बितेको युवावस्था र काठमाडौँमा बितेको जागिरे जीवन पनि कताकति मिसिएर आएका छन् । यसर्थ यो कृति डायस्पोरिक रङमा घोलिएको सुन्दर आख्यानात्मक निबन्ध हो ।
‘लन्डन अनप्लग्ड’ बारे छिरलिएका सूचना
नाममा के छ ? म भन्न सक्दिनँ, तर नाम केही त पक्कै हो, नत्र म आफैँ नामको सट्टा उपनाम किन राख्थेँ ? त्यस्तै गोपी सापकोटाले तारानाथ शर्माको ‘बेलाइततिर बरालिँदा’ जस्तो कृतिको नाम नराखेर ‘लन्डन अनप्लग्ड’ राखेका होलान् भन्ने निष्कर्ष हो मेरो । कृतिको नामजस्तो रचना भने कृतिमा भेटिँदैन, यसर्थ यसले भावार्थमा नाम राखेको पुष्टि हुन्छ । पाठकवृन्द, त्यसो भए यस कृतिमा के छ ? भन्ने उत्सुकता जाग्यो होला हैन त ? यहाँ म त्यसका केही साक्ष्यहरू सहित केही सूचना मात्र दिन्छु ।
‘म एक दिन’ शीर्षकको रचनामा लामो समय बिदा नबसी काम गरेका कारण आफ्नै श्रीमतीको नाम समेत बिर्सेको सन्दर्भलाई यसरी चित्रण गरिएको छ :
‘निर्मलाले त हामीलाई बिर्स्यौ कि क्या हो ? ज्वाइँ र केटाकेटीलाई लिएर आऊ न हाम्रोमा एक दिन भन्दै हुनुहुन्थ्यो ।’ उनले भनिन् ।
म एकदम खुसी भएँ ।
बल्ल पो सम्झेँ त उनको नाम – निर्मला । मैले मायाले निरु भनेर बोलाउँथेँ । त्यति सजिलो नाम पनि मैले कसरी बिर्सेको हुँला । त्यति लामो समयसम्म बोलाइरहेको नाम पनि मैले कसरी बिर्सन सकेको हुँला । मनमनै एकपटक उनको नाम भनेँ, निरु । फेरि मनमनै दोहोर्याएँ । (पृष्ठ, ३२–३३)
माथिको साक्ष्यमा काममा बढी जोतिँदा के हुन्छ ? भन्ने देखाइएको छ भने ‘होलिज क्याफे’ शीर्षकको रचनामा विदेशमा बस्दा त्यहाँका व्यक्तिसँग बोल्दा गोप्यता कायम राख्न नेपालीले आफ्नो भाषा प्रयोग गरेको सन्दर्भलाई यसरी देखाइएको छ :
ड्यानीले बुझ्दैनथ्यो । उसको बारेमा उसकै अगाडि हामीले खुलेर कुरा गर्न सक्थ्यौंँ । हामी के विषयमा कुरा गर्दैछौँ भन्ने कुरा अरुलाई थाहा निदनका लाग हामीले धेरै शब्दहरूलाई नेपालीकरण गरेका थियौँ । त्यस्तो कुरामा युवराज र गोकुल खप्पिस थिए । एक एक गर्दै हामीले सम्भव भएसम्मका अङ्ग्रेजी नामहरू र अफिसमा प्रयोग हुने प्राविधिक शब्दहरूलाई नेपालीकरण गरेका थियौँ । (पृष्ठ, ५७)
यो कृतिमा लेखकले लन्डनको जीवनशैलीलाई पनि बडो सुन्दर तरिकाले देखाइएका छन् । त्यसका लागि हेरौँ केही साक्ष्य :
साक्ष्य : १
नजिक पुगेपछि भने लोरी नै हो भन्ने पक्का भयो । पहिलेभन्दा अलिअलि मोटाएकी थिई । उसले नै ‘हाइ’ भनी ।
‘ल बधाई छ । तिम्रो त बिहे पनि भएछ, बच्चा पनि भएछ ।’ मैले भनेँ ।
‘होइन, होइन । मेरो बिहे भएको छैन, बच्चा मात्रै भएको हो ।’ उसले भनी ।
उसको त्यो कुरा सुन्दा नेपालमा अचम्म लाग्छ, तर बेलायतमा यो सामान्य हो । (पृष्ठ, ३९)
साक्ष्य : २
लिन्डासँग यतिखेर उसका तीनैजना लोग्लेहरू साथमा छैनन् ।
तर ती तीनजना लोग्नेहरूबाट जन्मिएका तीन छोराहरू भने उसकै साथमा छन् । ती तीन पूर्व लोग्नेहरूका उनीहरूका छोरा भेट्न आ–आफ्ने पालोमा आइरहन्छन् ।
उसको केटा खोज्ने यात्रा अझै रोकिएको छैन । यात्रा जारी नै छ । त्यो मामलामा ऊ अगाडि नै छे । अनुभवी छे । (पृष्ठ, १३०)
माथिको पहिलो साक्ष्य ‘के उखु, के छोक्रा’ बाट लिइएको हो । त्यसमा लन्डनमा विवाह नगरी आमा बन्न चाहने र राज्यले दिएको भत्ता खाएर बस्ने कुरा गरिएको छ । त्यस्तै दोस्रो साक्ष्य ‘जेलिएको प्रेम’ बाट लिइएको हो, यसमा पनि पहिलोमा जस्तै सन्दर्भ आएको छ । त्यति मात्र नभएर बेलायती नारीले बहुविवाह गरेर हरेक पतिबाट एक एक छोरा जन्माएको र तिनलाई आफैँले हुर्काएको सन्दर्भ आएको छ ।
त्यस्तै बेलायतीहरू समयका बारेमा के कस्तो धारणा राख्छन् ? उनीहरू रिस देखाउन परे के गर्छन् भन्ने कुरालाई ‘ड्राइभिङको कथा’मा यसरी देखाइएको छ :
पहिलो सन्दर्भ :
‘ल, अब अर्को दिन भेटौँला ।’ मैले सधैँझैँ भनेँ ।
उसले मलाई घुरेर हेर्यो ।
सबै कुरा सामान्य हुँदा उसले त्यसरी हेरेको मलाई मन परेन । मैले सोधेँ, ‘के छ, सबै ठिक छ नि ?’
‘छैन ।’ उसले रिसाएर भन्यो ।
‘के भयो त ?’
‘लेसन पूरा हुन अझै पाँच मिनेट बाँकी छ । तिमीले पूरै समय सिकाएनौ नि ?’ उसले घडी देखाउँदै एकदमै रुखो हुँदै भन्यो ।
मैले घडी हेरेँ । पचपन्न मिनेट भएको थियो । (पृष्ठ, १४२)
दोस्रो सन्दर्भ :
त्यो दिन मैले उसलाई पूरै एक घन्टा पाँच मिनेट सिकाएँ ।
हामी फर्कँदैँ थियौँ । कार उसले चलाएको थियो । मैले निर्देश गरिरहेको थिएँ । उसको घर पुग्न करिब दुई माइल बाँकी थियो । बाटोमा उसलाई गाडी रोक्न भनेँ । उसले रोक्यो । अनि मैले भनेँ, ‘गाडीबाट निस्क ।’
‘किन ?’ उसले सोध्यो ।
‘एक घन्टा पाँच मिनेट भयो । तिम्रो कक्षा यहीँ सकियो ।’
‘तर हामी त घर पुगेकै छैनौँ नि त ।’
‘तर एक घन्टा पाँच मिनेट भइसक्यो ।’मैले दोहो¥याएँ, ‘समय सकियो, कारबाट बाहिर निस्क ।’
‘अनि म घर कसरी जाने ?’ उसले सोध्यो ।
‘द्याट इज योर प्रोब्लम । जस्ट गेट आउट फ्रम माइ कार ।’ मैले रिसाउँदै कराएपछि केटो लुरुक्क परेर गाडीबाट ओर्लियो । (पृष्ठ, १४३–१४४)
माथिको पहिलो साक्ष्यमा आफूले पैसा तिरेपछि पूरा समय नपाएका कारण रिसाएको सन्दर्भ छ भने दोस्रो साक्ष्यमा प्रतिशोध लिनका लागि आफूले अघिल्लो दिनको नपुग समय सिकाएपछि बिच बाटोमा अलपत्र पारिदिएको सन्दर्भ आएको छ । यी त केही झिल्का मात्र हुन् । यो कृतिमा लन्डनको जीवनशैली बुझ्ने थुप्रै सन्दर्भ आएका छन् । त्यति मात्र नभएर बिच बिचमा नेपालका सन्दर्भ पनि आएका छन् । यसर्थ यो कृति आप्रवासी चेत भएको कृति बनेको छ ।´
लन्डन अनप्लग्ड’ले ममा के प्लग्ड गर्यो त ?
यतिबेला तेस्रो विश्वमा बस्ने धेरैको सपना हो बेलायत । चाहे पढ्न होस्, चाहे घुम्न होस् वा शरणार्थीकै रूपमा किन नहोस् एक पटक त्यहाँ जाने इच्छा मूलतः तेस्रो विश्वका हरेक व्यक्तिको हुन्छ । त्यसो हुनुको मुख्य कारण त्यहाँको स्वतन्त्र जीवनशैली हो । त्यति मात्र होइन, त्यहाँ हरेक मानवलाई गरिने मानवीय व्यवहार सबैको मनमा गढेर बसेको हुन्छ भन्ने कुरा गोपी सापकोटाले आफ्नो कृति ‘लन्डन अनप्लग्ड’ मा यसरी देखाएका छन् :
उनीहरूको एउटा कुराले म धेरै प्रभावित भएँ ।
उनीहरूले मलाई कत्ति पनि हेपेनन् । ससम्मान प्रश्न सोधे । म कहाँ शरणार्थीको रूपमा आएको मान्छे । मसँग न कुनै परिचयपत्र नै थियो, न त त्यहाँ मैले चिने जानेको कोही अधिकृत नै थिए । मेरो कुनै परिचय थिएन । तर पनि मलाई उनीहरूले कतै पनि कुनै होच्याउने व्यवहार गरेनन् ।
त्यसैले मेरो मनमा बेलायतीहरूप्रति आदर भाव पलाएर आयो । (पृष्ठ, २७७)
माथिको साक्ष्य ‘बेलायतमा बर्मेली जीन’ शीर्षकको अन्तिम निबन्धको हो । यसमा बर्माबाट भागेर बेलायत पसेको जीन नामक व्यक्तिले बेलायत बस्ने कागजपत्र बनाउने क्रममा बेलायती उच्च पदस्थ कर्मचारीहरूको आनीबानीका बारेमा कुरा गरेको छ । आफूसँग आफू हुनुको कुनै प्रमाण समेत नरहेको अवस्थामा पनि उनीहरूले देखाएको सदाशयताको यसमा खुलेर प्रशंशा गरिएको छ । अन्य देशमा भएको भए यस्तो अवस्था हुने थिएन भन्ने निष्कर्ष यसमा दिइएको छ । त्यस्तै अर्को सन्दर्भ हेरौँ :
नेपालमा हामी कसरी सोच्छौँ र बेलायतमा उनीहरू कसरी सोच्छन् भन्ने कुरामा अन्तर रमाइलो छ ।
नेपालमा समाजसेवाका लागि कसरी पैसा माग्न सकिन्छ भन्ने कोणबाट सोच्छौँ । बेलायतमा समाजसेवाका लागि कसरी दान गर्न सकिन्छ भन्ने कोणबाट सोच्छन् । नेपालमा पैसा कमाउन सकेकोमा गर्व गरिन्छ । बेलायतमा दान गर्न सकेकोमा गर्व गरिन्छ । (पृष्ठ, १५४)
माथिको साक्ष्य मैले ‘पसिनाको ह्विस्की’ नामक निबन्धबाट लिएको हुँ । यसमा नेपाली र बेलायतीहरूको सोच्ने तरिकाको भिन्नता देखाइएको छ । हामी नेपाली केवल कमाउने र बचाउने कुरा मात्र सोच्छौँ । यसको उल्टो बेलायतीहरू कमाउनुका साथै बचाएको रकम कसरी दान गर्न सकिन्छ भनेर सोच्छन् भन्ने देखाइएको छ । यसरी समाजसेवाको भावनालाई उच्च तहमा देखाउँदै बेलायती जीवनशैलीको सुन्दर चित्रण गर्नु नै यो कृतिको सबैभन्दा सशक्त उपलब्धि हो । यो कुरा आम नेपालीले मनन गर्न सके नेपाल कति छिट्टै सुन्दर देश बन्ने थियो होला ?
अन्त्यमा सिर्जनात्मक गैरआख्यानबारे छोटो विमर्श
पाठकवृन्द, हामीलाई थाहा छ, साहित्यमा आख्यान, निबन्ध, नाटक र कविता स्थापित मूल विधाहरू हुन् । तिनै भित्रका कथा, उपन्यास, निबन्ध, नियात्रा, संस्मरण, नाटक, कविता, काव्य, खण्डकाव्य, महाकाव्य आदि विधाका रूपमा हामीमाझ चर्चामा छन् । कोभिड १९ का कारण घरभित्र बन्दी बनेर रहनुपर्दा धेरै प्रविधाहरू जन्मने अवसर पाए । त्यस्तैमा जन्मेको त होइन ‘सिर्जनात्मक गैरआख्यान’ ? ‘ऐना’ कथासङ्ग्रह हुँदै ‘सखी’ उपन्यास लेखिसकेका रामलाल जोशीले ‘बाआमा’ लेख्ने क्रममा उपन्यास नभनेर आख्यान मात्र भने । त्यस्तै ‘काँचो कागज’ र ‘चिसो बाफ’ जस्ता सफल उपन्यास लेखिसकेपछि गोपी सापकोटालाई के त्यस्तो आपत आइलाग्यो ? उनी ‘लन्डन अनप्लग्ड’ ल्याउँदा सिर्जनात्मक गैरआख्यान भन्नुपर्ने कस्तो वाध्यतामा परे कुन्नि ? त्यसो त आजभन्दा एक्काइस वर्षअघि २०६० सालमै ध्रुवचन्द्र गौतमले आफूलाई पात्र बनाएर ‘बाढी’ उपन्यास ल्याइसकेका छन् । त्यसमा उनले गैरआख्यान नभने पनि त भएको छ त ।
आफ्नो कृतिबारे ‘लेखकका कुरा’ मार्फत् गोपी सापकोटा यस्तो लेख्छन्, “यो अभिव्यक्तिको एउटा शैली हो । मेरो विचारमा कुनै यथार्थलाई जस्ताको तस्तै भन्नु गैरआख्यान हो भने यथार्थलाई सिर्जनात्मक र आख्यानात्मक तरिकाले भन्नु सिर्जनात्मक गैरआख्यान हो ।” (पृष्ठ, २८६) यो भनाइले के पुष्टि गर्छ भने नाम जे राखे पनि यो कृति आख्यानको एउटा रूप हो । यसमा देश र विदेशमा घटेका घटनाहरू छ्याप्छ्याप्ती आएका छन्, तिनमा लेखकको संलग्नता कतैनकतै छ । उनी आफू संलग्न नभए पनि अन्त्यमा ‘गोपी भन्ने लेखकलाई यो कुरा सुनाएँ’ भनेर पनि तारतम्य जोड्न खोजिएको छ । यो लेखकको आफूलाई पोख्ने मोह बाहेक के हो त ? जे होस्, आफू र आफ्नो परिवारका कुनै सदस्य नपुगेको ठाउँ र त्यहाँको जीवनशैलीका बारेमा यति सुन्दर कति ल्याई पढ्ने अवसर दिएकोमा लेखक गोपी सापकोटालाई धन्यवाद भन्दै कलम रोक्छु । भबतु सब्ब मङ्गलम् ।