चितवन, १० मंसिर ।
भरतपुर महानगरपालिका वडा नम्बर ६ देवनगरमा निर्माण गरिएको वन्यजन्तु उद्धार केन्द्रमा राखिएको बाघ हेरेर माडी, बघौडाका विद्यार्थीहरु रमाए । माडी नगरपालिका वडा नम्बर ३ मा रहेको राष्ट्रिय आधारभुत विद्यालय बघौडाका विद्यार्थीहरु शिक्षकसहित बाघ हेर्न देवनगर आएका हुन् ।
विद्यालयका शिक्षक शिवप्रसाद पाठकले ३ देखि ५ कक्षासम्मका विद्यार्थीलाई बाघ देखाउन लिएर आएको बताए । ‘बाघलाई नजिकबाट हेर्न पाइयो । बाघ पनि ठुलो रहेछ’ उनले भने ।
विद्यालयकी शिक्षिका रीताकुमारी महतोले यसअघि आफूले प्रत्यक्षरुपमा बाघ कहिल्यै नदेखेको बताउँदै भनिन्, ‘बाघ हेर्न पाउँदा खुसी लाग्यो । विद्यार्थीहरु पनि रमाए ।’
निकुञ्जको मुख्यालय कसरामा थुनेर राखिएका दुई वटा भाले बाघलाई स्थानान्तरण गरेर वन्यजन्तु उद्धार केन्द्रको खुल्ला खोरमा राखिएको छ । ८ वर्षको भाले बाघलाई बाँकेको राप्ती पीडित सामुदायिक वनबाट २०७८ साल फागुन १८ गते नियन्त्रणमा लिएर चितवन ल्याइएको थियो । अर्को भाले बाघलाई २०७७ साल असोज १२ गते नियन्त्रणमा लिइएको थियो । यी दुबै नरभक्षी बाघले मान्छेलाई आक्रमण गर्न थालेपछि समातेर थुनिएको थियो ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले देवनगरमा निर्माण गरिएको वन्यजन्तु उद्धार केन्द्रमा बाघ, गैँडा, चित्तल लगायतका जनावर देखाउने गरी चिडियाखानाका रुपमा विकास गर्न लागिएको बताइन् । चितवन आउने निकै कम पर्यटकले मात्रै बाघ देख्ने गरेको बताउँदै उनले भरतपुर भ्रमण वर्षसँगै चिडियाखाना सञ्चालनमा आएपछि सबैले बाघ देख्न पाएको बताइन् । यसलाई खुल्ला चिडियाखानाका रुपमा क्रमशः विकास गर्ने गरी योजना बनाइएको छ ।
भरतपुर महानगरपालिकाले वन्यजन्तु उद्धार केन्द्रको व्यवस्थापनका लागि एक करोड रुपैयाँ खर्च गरेको छ । खोर, मचान र सडक निर्माणमा महानगरले सहयोग गरेको हो । भ्रमण वर्षका अवसरमा भरतपुर महानगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जलाई यहाँ आउने पर्यटकलाई बाघ देखाउने वातावरण मिलाइदिन आग्रह गरेको थियो । सोही आग्रहपछि देवनगरमा सर्वसाधारणले बाघ हेर्ने अवसर पाएका छन् ।
सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भ्रमण वर्षका रुपमा मनाइरहेको छ । भरतपुर नेपालकै पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण महानगर हो । निकुञ्ज आउने पर्यटकहरुमध्ये खर्चिला पर्यटक महानगरभित्रकै मेघौली, पटिहानी, जगतपुर क्षेत्रमा बस्ने गर्दछन् । निकुञ्जको यसै क्षेत्रमा बढी सङ्ख्या एकसिङ्गे गैँडा, बाघ लगायतका वन्यजन्तु पाइन्छन् ।